कुषोषणलाई शुन्य बनाउन पौवादुङमामा विशेष पोषण कार्यक्रम शुरु


भोजपुर, ११ भदौ । भोजपुरको पौवादुङमा गाउँपालिकाले विषेश पोषण कार्यक्रमको शुरुआत गरेको छ । कुपोषणलाई शुन्यमा झर्ने उद्धेश्यले शुक्रबारबाट कार्यक्रमको शुरुआत गरेको हो । नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विषेश पोषण कार्यक्रम शुरु गरेको हो । वालबालिकाको शारिरिक तथा मानसिक विकासका लागि अभियानको रुपमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यो कार्यक्रम अन्तर्गत बच्चा जन्मिएदेखिको स्वास्थ्य अवस्था, तौल, खानपिन लगाएतको विषयमा तथ्याङ्क राख्ने र उनीहरुको स्वास्थ्यमा कुनै कारण समस्या देखा परेमा गाउँपालिकाले नै स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाइएको छ ।

बच्चाको स्वास्थ्य अवस्थाको बारेमा आमालाई आवश्यक तालिम दिन शुरु गरेको हो । अभियान अन्तर्गत वडा नं २ तिवारीभञ्याङका २० जना आमालाई तामिलसँगै आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बालबालिकालाई लक्षित गरेर तौल जाच्ने मेसिन र पोषण लिटो पनि वितरण गरिएको छ । अभियान छ ओटै वडामा सञ्चालन गर्ने जनाइएको छ । आमाले राखेको तथ्याङ्कको आधारमा आवश्यक पोषण तथा स्वास्थ्य उपचारको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।
बालबालिकाको मानशिक स्वास्थ्य बृद्धि अनुगमन र पोषणा लेखाजोखा गरिने स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्यायले जानकारी दिए ।

प्रमुख उपाध्यायले भने,‘प्रदेश १ मा पहिलो चरणमा छनौट भएका पाँच ओटा स्थानीय तह मध्ये हाम्रो गाउँपालिका पनि एक हो । हामीले कार्यक्रमको शुरुआत गरेका छौँ । यो अभियान सबै वडामा सञ्चालन गछौँ ।’ बालबालिकाको स्वास्थ्यलाई विषेश ध्यानमा राख्दै प्रदेशसरकारको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । बच्चा जन्मिएपछि उसको बृद्धि विकास कसरी भइरहेको छ भन्ने विषयमा यो कार्यक्रमले मुख्य ध्यान दिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले जानकारी दिए ।

प्रमुख प्रशासकिय अधिकृत भट्टराईले भने‘ कार्यक्रमको मुख्य उदेश्य समाजमा हुने कुपोषणलाई हटाएर स्वास्थ्य नागरिक उत्पादन गर्ने हो । यो कार्यक्रमले बालबालिकामा हुने कुपोषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ । बालवालिकालाई स्वास्थ्य र मानशिक रुपमा सक्षम बनाउन सहयोग पुग्छ । शिशु जन्मपछि उसको तौल, मोटाई लगाएत उसको बृद्धि विकासको रेकर्ड राख्छौँ । त्यो रेकर्डको आधारमा बच्चाको स्वास्थ्य अवस्था हेछौँ । यदि उसको बृद्धि विकासमा कुनै असर पुगेको रहेछ भने अस्पतालमा लगेर उपचारको व्यवस्था मिलाउछौँ ।’

गाउँपालिकाका बालबालिकालाई प्रत्याप्त पोषणको व्यवस्था गरेर कुपोषणलाई शुन्यमा झार्ने लक्ष्यले कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । नागरिकलाई सहज स्वास्थ्य सेवाको लागि गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको उनको भनाइ छ । स्थानीयलाई सहज रुपमा सेवा प्रदान गर्न नीति तथा कार्यक्रम नै बनाएको अध्यक्ष राईले जानकारी दिनुभयो । अध्यक्ष राईले भने,‘ पोषण भनेको बालबालिकासँगै मानिसहको लागि अपरिहार्य बस्तु हो । स्वस्थ नागरिक उत्पादन गर्न हामीले पोषणमा ध्यान दिन आवश्यक छ । त्यहि भएर हामीले कुपोषणरहित गाउँपालिका बनाउने अभियान थालेका छौँ ।’

महिलाहरुको हक अधिकार, स्वास्थ्य, सुविधा तथा क्षमता विकास क्षेत्रमा गाउँपालिकाले चरणवद्ध रुपमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । बालबालिका तथा महिलाको समस्याको विषयमा सरोकारवाला पक्षको सल्लाह अनुसार काम गरिरहेको उपाध्यक्ष राईको भनाइ छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार