पौवादुङमाका शाक्यद्धारा २९ लाखको जग्गा प्रहरी चौकीलाई निःशुल्क प्रदान


भोजपुर, १६ साउन । भोजपुर पौवादुङमा गाउँपालिका प्रहरी चौकी निर्माणका लागि स्थानीय खड्गराज शाक्यले निःशुल्क जग्गा प्रदान गरेका छन् । जग्गा अभावमा प्रहरीको भवन निर्माणमा समस्या भएपछि स्थानीय शाक्यले २९ लाख बराबरको तीन रोपनी निःशुल्क जग्गा दिएका हुन् ।

जग्गा दिएकाले अव चौकी निर्माणमा सहजता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुुख राजकुमार राईले बताए । प्रमुुख राईले भने ‘जग्गा नहुँदा प्रहरी चौकी निर्माणमा समस्या भएको थियो अव चौकीको नाममा जग्गा प्राप्त भएको छ । जग्गा दिनु हुने खड््गराज शाक्य लगाएत उहाँको परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु ।  जग्गा प्रदान गर्नका लागि पहल गर्नु हुने गाउँपालिका अध्यक्ष किरण राई लगाएत सम्पुर्ण गाउँपालिका परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

गाउँपालिकाको पहलमा चौकीको नाममा जग्गा प्रदान गर्न सफल भएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाको सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापना गरेको भएपनी आफ्नो नाममा जग्गा नहुँदा भवन निर्माणमा समस्या भएको उनको भनाइ छ । अब जग्गा प्राप्त भएकाले प्रहरीको भवन निर्माणमा गाउँपालिकाले पहल गर्ने राईले बताए ।

अध्यक्ष राईले भने, ‘गाउँपालिकामा अस्थायी प्रहरी चौकी स्थापना गरेर सुरक्षा प्रदान भइरहेको छ । प्रहरीको भवन नहँुदा गाउँपालिकाको भवनमा बस्नुपर्ने अवस्था छ । आजबाट जग्गा प्रहरीको नाममा पास भएको अव भवन निर्माणमा हामी पनि पहल गर्नेछौँ । प्रहरीलाई जग्गा दिएर महान काम गर्ने जग्गादाता खड्गराज शाक्य लगाएत उहाँको सपरिवारलाई भित्रि मनबाट नै धन्यवाद ज्ञापन गर्न चाहन्छु । उहाँहरु जस्तै स्वास्थ्य चौकी, रंगशाला, लगाएत विभिन्न संरचना निर्मांण गर्न जग्गा प्रदान गर्नु हुने पौवादुङमाबासी जग्गा दाता महानुभावहरुमा पनि हार्दिक आभार व्यक्त गर्दछु । ’

गाउँपालिकाको सुरक्षामा सहजता होस भन्ने उद्धेश्यले प्रहरीलाई जग्गा दिएको जग्गादाता खड्गराज शाक्यले बताए । यसले गाउँपालिको विकासमा टेवा पुग्ने उनको भनाइ छ । जग्गादाता ले भने,‘ हाम्रो सुरक्षामा खट्ने प्रहरीको आफ्नै भवन नहँदा समस्या छ । जनताको सेवा खट्ने उहाँहरुले भाडाको घरमा बसेर सेवा दिनुपर्ने अवस्था छ । प्रहरीलाई आफ्नो भवन निर्माण गर्नको लागि जग्गा दिएको हुँ ।’

मंगलबार गाउँपालिका अध्यक्ष किरण राई, प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराई,ईलाका प्रहरी कार्यालय तिवारी भञ्जाङका प्रमुख अर्जुन अधिकारी,वडा अध्यक्ष तिर्थ कार्की र जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईको उपस्थितिमा जग्गाधनीले प्रहरी चौकी च्याङग्रेको नाममा जग्गा पास गरिदिएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार