
भोजपुर, १ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले आफ्नै स्थानीय पाठ्क्रम लागू गर्ने भएको छ । बालवालिकाहरुलाई आफ्नो क्षेत्रको भाषा, सस्कार संस्कृति तथा ऐतिहासिक महत्वको विषयमा ज्ञान दिने उदेश्यले गाउँपालिकाले पाठ्क्रम निर्माण थालेको हो । यहाँका ३३ ओटा सामुदायिक विद्यालयलाई लक्षित गरेर स्थानीय पाठ्यक्रम निर्माणको लागि सुझाब संकलन थालिएको छ । केन्द्रले निर्माण गरेको पाठ्यक्रमले स्थानीयस्तरका विषयबस्तुहरुको ज्ञान वालवालिकामा नहुने ठहर गर्दै गाउँपालिकाले स्थानीयस्तरमै पाठ्क्रम निर्माणको गृहकार्य थालेको हो ।
सरकारले कक्षा १ देखी ३ मा पाँच पाठ्भार र कक्षा ४ देखी ८ सम्म चार पाठ्भार बरावरको स्थानीय पाठ्क्रम लागु गर्ने व्यवस्था गरेको छ । सरकारको नीति कार्यान्वयको लागि विज्ञहरुको समुहले यहाँका पाठ्यक्रममा समेटिने विषयबस्तु छनोटको विषयमा आवश्यक काम थालेको पाठ्यक्रम निर्माण सुझाव संकलन समितिको सदस्य टलक कार्कीले जानकारी दिए ।सदस्य कार्कीले भने,‘‘ आज यो गाउँपालिकाको शिक्षा क्षेत्रको लागि ऐतिहासिक दिन हो । हामीले बाहिरबाट आउनु भएका विज्ञ समूह तथा यहाँका शिक्षाप्रेमी, समाजसेवी, वुद्धीजिवि तथा सरोकारवाला पक्षसंग छलफल गरेर पाठ्क्रम निर्माणको काम थालनी गरेका छौँ । यहाँको परिवेश सुहाउने पाठ्क्रम निर्माण गछौँ । हामीले गाउँपालिकाको राम्रो साथ पाएका छौँ । ’’
स्थानीय भाषा र परिवेश सुहाउदो पाठ्यक्रम निर्माण गरिने बताइएको छ । पाठ्क्रम यहाँको भाषा, सस्कार, संस्कृति, रितिरिवाज, रहनसहन, ऐतिहासिक तथा धार्मिक महत्व लगाएत विषयबस्तुलाई समेटेर निर्माण गरिने छ । पाठ्यक्रमा समावेश गरिएका विषयवस्तु तथा सन्दर्भको विषयमा आवश्यक पर्ने पाठ्य पुस्तकहरुको व्यवस्थासँगै पाठ्क्रमलाई पूर्णरुपले कार्यन्वयनमा भूमिका खेल्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले जानकारी दिए । प्रशासकिय अधिकृत भट्टराईले भने,‘‘ हाम्रो गाउँपालिकामा स्थानीयस्तरको पाठ्क्रम निर्माणको कामको थालनी भएको छ । जसको लागि विज्ञ समुहहरु लाग्नु भएको छ । पाठ्क्रम निर्माण भएपश्चात यसको कार्यान्वनमा गाउँपालिकाले पूर्णमा भूमिका खेल्नेछ ।’’
शिक्षा क्षेत्रको विकासले मात्र समाज परिवर्तनमा टेवा पुग्ने भएकाले यसको गुणस्तर सुधारमा विशेष ध्यान दिएको गाउँपालिकाले जनाएको छ । स–साना बालवालिकालाई यहाँका मुख्य र महत्वपूर्ण विषयबस्तुको बारेमा ज्ञान दिन पाठ्क्रम निर्माण थालेको जनाइएको छ । यहाँका पर्यटकिय, धार्मिक, ऐतिहासिक सस्कृतिक क्षेत्रको विषयमा माटो र भूगोल सुहाउदो पाठ्क्रम निर्माण गर्ने गाउँपालिकाको भनाइ छ । जसको लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
अध्यक्ष राईले भने,‘‘ समाजको विकास भनेको शिक्षाबाट नै हुन्छ । मैले शिक्षा क्षेत्रको विकासमा विभिन्न खालका रचानात्मक काम गरिरहेको छु । यो मेरो दोश्रो कार्यकालमा आफ्नै पाठ्क्रम निर्माण गरेर पठनपाठन गराउने लक्ष्य छ । पाठ्क्रमको निर्माण पश्चात कार्यन्वयनको लागि आवश्यक बजेटको व्यवस्थापन गछौँ ।’’
सरकारले अनिवार्य रुपमा स्थानीय पाठ्क्रम निर्माण गरेर अध्यायन गराउने भनेपनि त्यसको कार्यान्वय पक्ष फितलो देखिएको विज्ञहरुको भनाइ छ । पौवादुङमा गाउँपालिकाले थालेको काम स्वागतयोग्य रहेकोले यसको कार्यन्वयनमा भने विशेष ध्यान दिनुपर्ने उनीहरुको सुझाब छ ।