भोजपुर, २७ बैशाख । विगतको स्थानीय तह निर्वाचनमा झैँ आसन्न निर्वाचनमा पनि प्रमुख पदमा महिलाको उपस्थिती न्यून देखिएको छ । राजनीतिक दलहरुले अधिकांश स्थानीय निकायमा पुरुषलाई नै उम्मेदवार बनाएका छन् । भोजपुरमा पनि प्रमुख पदका आकांक्षीमा महिलाको सहभागिता कम छ । ९ स्थानीय तह र ८१ वडा रहेको भोजपुरमा एउटा वडाबाहेक अन्य स्थानीय तहमा पुरुषको उम्मेदवारी परेको छ । प्रतिपक्षी दल नेकपा एमाले र सत्तागठबन्धन विच उम्मेदवारीको रस्साकस्सी देखिएपनि प्रमुख पदमा पुरुषलाई नै अघि सारेका छन् ।
भोजपुरको भोजपुर नगरपालिकाको वडा नं ५, बोखिम, षडानन्द नगरपालिका वडा नं। १०, साङपाङ र हतुवागढी गाउँपालिका ९, हसनपुरमा मात्र ३ जना महिला वडा अध्यक्षको उम्मेदवारी परेको छ । उक्त बोखिम वडामा नेकपा एमालेको तर्फबाट स्थानीय आशादेवी राई, साङपाङ वडामा नेपाली कांग्रेसकी रेनुकुमारी राई र हसनपुर वडामा नेपाली कांग्रेसकी साईती माया राई अध्यक्षको उम्मेदवार बनेकी छन् । भोजपुरको सन्दर्भमा वडाध्यक्ष प्रमुख पदमा उम्मेदवारी दिएकी राईले पुरुषवादी समाज र सोचाई बदल्न आफ्नो उम्मेदवारी भएको उनले सुनाईन् ।
’प्रमुख पदमा एकमात्र महिला उम्मेदवार बन्नु मेरा लागि अवसरका साथै ठुलो चुनौती पनि हो, पुरुष सरह महिलाले पनि जनताको हितमा काम गर्न सक्छ भन्ने मेरो मान्यता हो’ राईले भनिन्, ’नेतृत्व गर्ने अवसर पाए महिलाको हक अधिकार, विकासे योजना र जनताप्रतिको उत्तरदायित्वसहितको नेतृत्व गर्नेछु, जनताको सेवामा सदा समर्पित रहनेछु’
वडा अध्यक्ष जितेमा आफ्नो समुदायको उत्थानको साथै अन्य समुदायका गरिब विपन्नको समस्याप्रति ध्यान दिने उनको भनाइ छ । आशादेवीको आत्मविश्वास र साहसबाट प्रभावित भएको नेकपा एमाले केन्द्रिय कमिटि सदस्य एवम् प्रदेश १ का सह ईन्चार्ज शेरधन राईले बताए । आशादेवीले महिला विभेद र उत्पीडनको समस्याको विषयमा देखिएको सामाजिक पृष्ठभूमिले पनि प्रभावित बनेको उनले बताए ।
विगतमा झैँ यो स्थानीय तह सदस्य निर्वाचनमा पनि प्रमुख पदबाहेक नगरपालिका र गाउँपालिका उपप्रमुख पदमा महिलाको वर्चस्व देखिएको छ । ९ वटै स्थानीय तहका उपप्रमुखमा एमाले, गठबन्धन र अन्य दलबाट महिलालाई उम्मेदवारीमा उभ्याएका छन् ।
साल्पासिलिछो गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट रिता घले, नेपाली कांग्रेसबाट अस्मिता कुलुङ राई र माओवादी केन्द्रबाट जलवती कुलुङ, आमचोक गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रबाट सिता राई, अरुण गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट कविता राई, नेपाली कांग्रेसबाट विनिता ढकाल र जनता समाजवादीबाट रेखा लिम्बु, हतुवागढी गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट कमला राई र गठबन्धनबाट सुनिता राई, रामप्रसाद राई गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट कमलादेवी राई, पौवादुङमा गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट ज्योत्सना राई, माओवादी केन्द्रबाट सम्झना राई र नेपाली कांग्रेसबाट राम कुमारी राई, भोजपुर नगरपालिकाको उपप्रमुखमा एमालेबाट निर्मला शेर्पा, गठबन्धनबाट ममिता राई र नेपाल परिवार दलबाट मनकुमारी सुनार उम्मेदवार बनेका छन् ।
यस्तै षडानन्द नगरपालिकाको उपप्रमुखमा एमालेबाट मेरिका राई, गठबन्धनबाट प्रमिला राई र जनता समाजवादीबाट संजिता राई, टेम्केमैयुङ गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट रमा राई र गठबन्धनबाट ईन्द्रावती राईको उम्मेदवारी छ । जसमध्ये आमचोक गाउँपालिकामा एमाले, अरुण गाउँपालिकामा नेकपा एकिकृत समाजवादी, रामप्रसादराई गाउँपालिकामा गठबन्धनले पुरुषलाई उपप्रमुखको उम्मेदवार बनाएका छन् ।