पौवादुङमामा किरण राईको पाँच वर्ष : समृद्ध गाउँपालिकाको आधार निर्माण !


भोजपुर, २५ बैशाख ।
पौवादुङमा गाउँपालिका योजनाबद्ध विकासमा उदाहरणीय छ । स्थायी महत्व बोकेका योजना निर्माण तथा त्यसको सफल कार्यन्वयनमा यो गाउँपालिका पहिलो स्थानमा देखिन्छ । कुसल र परिपक्क नेतृत्वका कारण यो गाउँपालिका एक नमूना गाउँपालिकाको रुपमा स्थापित भएको छ ।
प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्याङकनमा प्रदेश १ को उत्कृष्टमा पर्न सफल गाउँपालिका हो । प्रदेश १ मा रहेका १३७ ओटा स्थानीय तहमध्ये पहिलो स्थानमा परेको यो गाउँपालिकामा धेरै नमूनायोग्य काम भएका छन् ।२०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्षमा एमालेको तर्फबाट किरण राई निर्वाचित भएका थिए भने उपाध्यक्षमा माओवादी केन्द्रको तर्फबाट सम्झना राई निर्वाचित बनेकी थिइन् । स्पष्ट बहुमत नभएको कारण यहाँको नेतृत्वले सहज रुपमा काम गर्न नसकेपनि धेरै नमूनायोग्य काम भएका छन् ।
सडक विस्तार
पौवादुङमा गाउँपालिकामा जनप्रतिनिधि आएको पाँच वर्षे कार्यकालमा स्थानीयको आवश्यकता र औचित्यको आधारमा ९० किलोमिटर कच्ची सडक विस्तार भएको छ । त्यस्तै यहाँ  २२ किलोमिटर सडक ग्रावेल भएको गाउँपालिकाले जनाएको छ । स्थानीय तहमा आएको सीमित श्रोत र साधनको अधिकतम प्रयोगबाट यो सफलता प्राप्त गर्न सकेको तत्कालिन गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

 

अध्यक्ष राईले भने,‘ हाम्रो पार्टीको स्पष्ट बहुमत नहुँदा यो कार्यकाल निकै सकसपूर्ण रह्यो । तर पनि मैले स्थानीय नागरिकलाई दिएको प्रतिवद्धता पुरा गर्न कुनै पनि कसुर बाँकी राखेको छैन् । मैले केन्द्र सरकारको ढोकासम्म धाएर यहाँ करोडौँ बजेट ल्याउन सफल भएको छु । सायद लाग्छ यहाँका स्थानीय तह मध्ये सवै भन्दा बढी केन्द्रको बजेट ल्याउने स्थानीय तह मेरो हो । हामीले सवैको ध्यान तत्कालिन विकासमा जान्छ । तर मैले तत्कालिन र दिर्घकालिन महत्वका योजनालाई विस्तृत परियोजना प्रतिबेदन तयार गरेर निर्माणको काम थालेको छु । यो मेरो पौवादुङमा समृद्ध बनाउने योजना हो ।’कतिपय कामको तत्काल नतिजा नआउने राईको भनाइ छ । गाउँपालिकाको विकासलाई स्पष्ट खाकाका साथ कार्यन्वयनमा लगेको अध्यक्षले बताए ।
राईले भने,‘ काम गर्न एउटा टिम चाहिन्छ । म अल्पमतमा रहेको कारण धेरै कठिनाइ भोग्नु पर्यो । मैले थालेको कतिपय काम धमाधम निर्माण भइरहेका छन् । कतिपय काम निर्माणको तयारीमा छन् । देशमा पहिलो पटक संघीयता कार्यान्वयन भएको कारण नीति नियम बुझ्न केहि समय लाग्यो । हाम्रो कार्यकालमा कोभिडको महामारी आयो । यो जनतालाई सर्वविधित नै छ । अहिले म मेरो अधुरा कामलाईपूर्णता दिन उम्मेदवारका रुपमा उभिएको छु । स्पष्ट बहुमत दिन जनतालाई आग्रह गरिरहेको छु । जितेर आएर दिर्घकालिन योजनाका कामलाई सम्पन्न गराउने मेरो पहिलो लक्ष्य छ ।’गाउँपालिकाको सबै क्षेत्रको विकासमा योजनाबद्ध काम थालेको राईले बताए ।
स्वास्थ्य शिक्षामा प्राथमिकता
पाँच वर्षको कार्यकालमा पाँच ओटा वडा कार्यालय भवन, सवै वडामा अस्पताल, प्राथामिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक इकाई गरी ६ ओटा भवन बनेका छन् भने दुई ओटा निर्माणधिन रहेका छन् । त्यस्तै सभाहल, सामुदायिक भवन, खोप केन्द्र गरी २० ओटा भवन बनेको गाउँपालिकाले जनाएको छ । एक ओटा भवन भने निर्माणाधिन रहेको छ । यहाँ पाँच वेड क्षमताको मानेडाँडा अस्पताल निर्माण भईरहेको छ । त्यस्तै गाउँपालिका तथा अन्य निकायसंगको सहकार्यमा ५२ ओटा विद्यालय भवन निर्माण सकिएको छ भने एउटा निर्माणाधिन अवस्थामा रहेको छ ।  १८५ पारिवारलाई टिनको छानो, नौ परिवारलाई घर
यहाँका गरिव तथा विपन्न १८५ परिवारको फुसको छानो हटाएर जस्तापाताको छानो फेरिएको छ । त्यस्तै घर विहिन नौ परिवारलाई गाउँपालिकाले घर निर्माण गरिदिएको गाउँपालिकाले जनाएको छ । यी परिवारलाई गाउँपालिकाले नीति तथा कार्यक्रम तयार गरेर घर बनाइ दिएको हो ।
विद्युतिकरणमा गाउँपालिकाको जोड
पौवादुङमा गाउँपालिकामा ७० प्रतिशत जनताले विद्युत्को सेवा लिइरहेको गाउँपालिकाको तथ्याङ्कले देखाएको छ । गाउँपालिकाको पहलमा अहिले यहाँ केन्द्रीय लाइन विस्तारको काम भईरहेको छ । पाँच वर्षभित्र विस्तार गरी सक्ने लक्ष्यका साथ बोलपत्र आह्वान गरिहेको भएपछि प्राधिकरण तथा ठेक्काको जिम्मा लिएको कम्पनीका कारण काममा केहि ढिला भएको गाउँपालिकाको भनाइ छ । स्थानीयस्तरमा उत्पादन भएको विद्युत् नपुगेको ठाउँमा २३४ घरलाई २० वाट र १५० घरपरिवारलाई ८० वाटको सोलार वितरण गरेको गाउँपालिकाको भनाइ छ ।
खानेपानी विस्तारको काम ८० प्रतिशत सम्पन्न
गाउँपालिकाले यहाँको पानीको समस्या समाधानको लागि तिव्रगतिमा काम भईरहेको जनाएको छ । छोक्ला छर्रछरे खानेपानीसँगै अन्य दुई ओटा मुहानबाट पानी ल्याउने काम ८० प्रतिशत सम्पन्न भएको छ । छोक्ला छर्रछरे खानेपानी अहिले केहि वडामा विस्तार भईरहेको छ भने ट्याङकी निर्माण शाखा पाएप विस्तारको काम अन्तिम चरण पुगेको जनाइएको छ । यी आयोजना बाहेक डिप बोरिङ र अरुण नदिबाट लिफ्टिङ गरेर पानी वितरण गरिने गाउँपालिकाले जनाएको छ । अरुण लिफ्टिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको काम सकिएको छ ।
घरमा हुने प्रशुति शुन्य
गाउँपालिकाले घरमा सुत्केरी हुने चलन अन्त्य गरेको छ । गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यमा ध्यान राख्दै गर्भवती तथा सुत्केरी महिलाको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले रातोभाले कार्यक्रम सञ्चालन गरेर ५०० जना सुत्केरी महिलालाई भालेसँगै पोषणयुक्त आहार वितरण गरेको छ । गर्भवती महिला उत्प्रेणा कार्यक्रम अन्तर्गत ६०० जनालाई अण्डा वितरण गरेको छ भने ७२ प्रकारका औषधी निःशुल्क वितरण गरिरहेको छ । गाउँपालिकाका गर्भवती महिलाको लागि गाउँपालिका भित्र निःशुल्क एम्वुलेन्सको सेवा दिएको छ । गाउँपालिकाले ७२ जनाको आङ खस्ने समस्याको शल्यक्रिया र १२४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिदिएको छ ।
पर्यटन क्षेत्रको विकास
पौवादुङ्मा गाउँपालिका पर्यटकीय क्षेत्रको विकाससँंगै ऐतिहासिक सम्पदाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले ऐतिहासिक तथा धार्मिक क्षेत्र कोटगढी, ‘दोस्रो हलेसी’सन्तानेश्वर मन्दिर, दुङ्माली भाषा संरक्षण केन्द्र, च्याङ्ग्रे पोखरी, अरुण डाँडा, झाराली गुफालगायत ठाउँको संरक्षण तथा विकासको थालनी गरेको हो । गाउँपालिका केन्द्र नजीकै रहेको कोटगढीको संरक्षणका लागि श्रमदानसहित रु ५० लाख लागतमा बाटो निर्माणको काम सम्पन्न भएको छ । ऐतिहासिक कोटगढीको संरक्षण तथा विकासमा ध्यान दिइएको गाउँपालिकाका तत्कालिन अध्यक्ष किरण राईले जानकारी दिए ।

राईले भने,‘गाउँपालिकालाई आर्थिक रुपमा विकास गर्नका लागि अन्य क्षेत्रसंँगै पर्यटकीय तथा ऐतिहासिक धार्मिक क्षेत्रको विकासमा योजनाबद्ध रुपमा लागेका छौँ, मुख्य पर्यटकीय क्षेत्रको विकासका लागि डिपिआर तयार गरेर गाउँपालिका तथा प्रदेश सरकारसँंग पनि सहकार्य गरेर काम अगाडि बढाएका छौँ ।’ यी मध्ये धेरै पर्यटकिय क्षेत्रको निर्माणको काम धमाधम भइरहेको छ ।
भावीयोजनामा चिवाचुङ डाँडा, छ्याङ्गी मन्दिर, भाते ढिकुरा, आहाल डाँडा, (डिपिआर बनिरहेको) गुफानागी, दिर्गे डाँडा, दिदीबहिनी डाँडा, मालिका डाँडा, मार्गपोखरी र डुडेगैरा, आहालचौर लगायत पर्यटकीय क्षेत्रको विकास तथा संरक्षणका लागि काम गरिने गाउँपालिकाले जनाएको छ ।
कृषिमा आत्मानिर्भर
भोजपुरको पौवादुङमा गाउँपालिका कृषिमा आत्मानिर्भर बन्दै गएको छ । गाउँपालिकाको अधिकांश क्षेत्र सुख्खाग्रस्त भएपनि गाउँपालिकाले कृषकलाई प्लाष्टिक पोखरी निर्माणको लागि आर्थिक सहयोग गरेर प्रोत्साहन गरेसंगै गाउँपालिका तरकारीमा आत्मानिर्भर बनेको हो । कृषकले वर्षातको पानीलाई पोखरीमा जम्मा गरेर सिंचाईको व्यवस्था मिलाएका छन् । आफ्नो क्षेत्रलाई भौगोलिक आधारमा विभाजन गरेर विभिन्न खाले बालीको पकेट क्षेत्र बनाएर काम गर्ने लक्ष्यका साथ कृषिको क्षेत्रमा लगानी गरिरहेको गाउँपालिकाले जनाएको छ । कृषकलाई प्रोत्साहन गरेकोले गाउँपालिका अहिले तरकारीमा आत्मानिर्भर रहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
खेलक्षेत्रको विकासमा जोड
खेल क्षेत्रको विकासमा पनि गाउँपालिकाले काम गरिरहेको छ । यहाँका ५६ करोडको डीपिआर तयार गरेका विश्व अल्ट्राधाविका मिराराईको सम्मानमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण भईरहेको छ । त्यस्तै कवर्डहल निर्माण भएको छ भने सबै वडामा खेलमैदान निर्माण भइरहेको छ । यहाँको स्वास्थ्य, शिक्षा, यातायात, कृषि पर्यटन विकासमा मुख्य रुपमा ध्यान दिएर काम थालिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार