दुई पटक एमाले जिल्ला सचिवको जिम्मेवारी पाउने को हुन् किरण राई ?


भोजपुर, २८ पौष ।

पछिल्लो समय राजनितिमा युवाहरुको भूमिका सशक्त देखिएको छ । पार्टीप्रतिको लगनशिलता र विभिन्न, आन्दोलन तथा मोर्चाहरुमा पु¥याएको योगदानको आधारमा जिम्मेवारी पनि पाईरहेका छन् । यस्तै उदयमान, कर्मठ प्रभावशाली एमाले युवा नेताका रुपमा सानो उमेरमा स्थापित नाम हो किरण राई ।

पौवादुङमा गाउँपालिका वडा नं ३ च्याङग्रेको औलियामा २०४२ सालमा आमा महिन्द्रकुमारी राई र बाबा काजी राईको जेठो सुपुत्रको रुपमा राईको जन्म भएको हो ।भोजपुरका स्थानीय तहको कान्छो जनप्रतिनिधिसमेत रहेका राई ३६ वर्षको उमेरमा देशको सशक्त र ठुलो पार्टी एमालेको पुनः जिल्ला सचिव पदमा निर्वाचित भएर आफ्नो योग्यता र क्षमतालाई थप उजागर गर्न सफल भएका छन् ।

राईले सानो उमेरमा एमालेको दुई पटक पार्टी सचिव बन्ने अबसर पाएका छन् । भोजपुरका सवै पार्टीहरुको इतिहासमा दुई पटक जिल्ला सचिव पदको जिम्मेवारी पाउने पहिलो पदाधिकारी रहेको राईको दावी छ ।

सानो उमेरबाट नै राजनितिमा चाँसो राख्ने राई गाउँ तह तथा स्थानीयस्तरमा पार्टीको विभिन्न पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेर अघि बढेका हुन् ।२०६१/०६२ सालमा अनेरास्ववियू तथा युवा संघमा काम गर्दै राजनितिमा प्रवेश गरेका राई १६/१७ वर्षको उमेरमा एमाले जिल्ला सचिव बनेका हुन् ।

राईले भने,‘सानो उमेरमा आफ्नै बाजेले राजनिति गरेको देखेर एमालेको झण्डा बोकेर हिँडे । यो अवधिमा आएका विभिन्न जिम्मेवारीलाई सफलपूर्वक निर्वाह गरे । अहिले एमाले जस्तो देश कै ठुलो पार्टीको जिल्ला सचिव भन्ने अवसर प्राप्त गर्दा निकै उत्साहित छुँ ।’

राई एमालेको चितवनमा भएको दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि र काठमाण्डौमा भएको प्रथम विद्यान महाधिवेशन प्रतिनिधि बनिसकेका छन् । एमालेको काठमाण्डौमा नै भएको नवौं महाधिवेशनमा देशको सबै भन्दा कान्छो महाधिवेशन प्रतिनिधि बनेका राई प्रदेश समन्वय परिषदका सदस्य पनि हुन् । मदन भण्डारी स्पोर्ट एमेडेमीको अध्यक्षको जिम्मेवारी पुरा गरी सकेका राई पूर्वाञ्चल क्षेत्रीय भलिबल रेफ्रीसमेत हुन् ।

२०६४ र २०७० सालको निर्वाचनमा युथफोर्सको उप प्रमुखको हैसियतले दुई नम्बर क्षेत्रमा पूर्व सूचना तथा सञ्चार मन्त्री एंव पूर्व मुख्यन्त्री शेरधन राईलाई जिताउन चुनावी कमाण्ड सम्हालेका राई एक प्रखर र स्पष्ट वक्ता मानिन्छन् ।

आफैले अध्यन गरेको पञ्चकन्या माध्यमिक विद्यालय च्याङ्ग्रेको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा प्रतिस्प्रधिलाई फराकिलो मतान्तर हराएसँगै आफूले चुनावी अनुभव बटुलेको समेत राईले बताए ।

राईले भने,‘ मैले विभिन्न चुनावी मोर्चाको जिम्मेवारी सम्हालेको छु । पाएको जिम्मेवारीलाई कुसलतापूर्वक निर्वाह गर्ने बानी छ । खास गरेर मैले पहिलो पटक आफैले पढेको विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचन लडेर जितेको थिए । त्यो मेरो चुनावी प्रतिस्पर्धाको पहिलो अनुभव थियो ।’

युवाहरुले देश विकासमा नयाँ भिजन र नयाँ सोचका साथ उदाहरणिय काम गर्नु पर्छ भन्ने सोच बोकेका राईले आफुले नेतृत्व गरेको गाउँपालिकामा विभिन्न जनतामुखी कामहरु गरिरहेका छन् । कुनै पनि कामलाई नमूनायोग्य र अरु भन्दा केहि न केहि फरक तथा पृथक ढंगले गर्न रुचाउने अध्यक्ष राईले विकासका कामलाई पनि सोहि अनुरुप अघि बढाएका छन् ।

राईको अगुवाईमा यहाँका ऐतिहासिक, धार्मिक, पर्यटकिय, खेलकुद लगाएत क्षेत्रमा आधुनिकताको प्रयोग गर्दै मौलिकता कायम राख्ने गरी विस्तृत परियोजना प्रतिबेदन(डीपिआर) तयार गरेर काम भइरहेका छन् । कामको थालनी गर्नु पूर्व परियोजनाहरुको विस्तृत खाका तयार गरेमा कामलाई आर्कषक रुपमा नमूनायोग्य तबरबाट सम्पन्न गर्न सकिने राईको भनाइ छ । त्यसैले दुर्गामी महत्व राख्ने योजनाहरुको डीपिआर तयार गरेर मात्र काम गरेको अध्यक्ष राईले बताए ।

अहिले पौवादुङमा गाउँपालिकाको प्रमुख रहेका राईले संघीयता कार्यान्वयनको चरणमा पौवादुङमा गाउँपालिका स्थापना गर्न संघर्ष समितिको संयोजक बनेर निकै ठुलो योगदान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार