भोजपुर ८ मङ्सिर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ६ कोट फुसको छानोमुक्त बनेको छ । वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर १०८ घरलाई जस्तापाता वितरण गरेसँगै वडा फुसको छानोमुक्त बनेको हो । वडा कार्यालयले २० लाख बजेट विनियोजन गरेर ४३ र शहरी विकास कार्यालय अन्तर्गत ६५ गरी १०८ विपन्न घर परिवारले जस्तापाताको छानो पाएको कार्यालयले जनाएको छ ।
वडा क्षेत्रको सुन्दरतासँगै बस्तीमा एक रुपता ल्याउनको लागि फुसको छानो हटाउने अभियान सञ्चालन गरेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । शुरुमा वडा कार्यालयले आफै बजेट विनियोजन गरेर कार्यक्रम थालेको भएपनि सरकारले नै फुसको छानो हटाउने अभियान सञ्चालन गरेपछि थप सहज भएको उनको भनाइ छ । वडाध्यक्ष नेपालले भने,‘ मैले जनतालाई निर्वाचनको बेला दिएको बचन अनुसार अभियान थालेको थिए । वडा कार्यालयले रु. २० लाख विनियोजन गरेर ४३ घरलाई जस्तापाताको छानो दिएका छौँ । पुन ः शहरी विकास कार्यालयबाट थप ६५ गरी यहाँका १०८ घर गरिव तथा विपन्न परिवारको फुसको छानो हटाउन सफल भएका छौँ ।’ आर्थिक अवस्था कमजोर भएका कारण वर्षौ देखि चुहिने फुसको छानोमा बस्दै आएका घर परिवारको लागि आभियान सञ्चालनमा ल्याइएको वडाध्यक्ष नेपालले बताए । वडाध्यक्ष नेपालले भने,‘वडाले स्थानीयको समस्यालाई सूक्ष्म रुपमा अध्ययन गरेर कार्यक्रमहरु सञ्चालन गरेको छ, हुन त हामीसंगै धेरै ठुला ठुला योजना तथा कार्यक्रम सञ्चालन गर्ने बजेट छैन तर पनि स्थानीयको स–साना समस्यालाई बुझेर काम गर्न सकियो भने जनतालाई खुसी बनाउन सकिदो रहेछ ।’
वडा कार्यालयले स्वास्थ्य, शिक्षा, यातायात, विद्युत्, कृषिका क्षेत्रमा पनि योजनाबद्ध रुपमा काम गरिरहेको वडाध्यक्ष नेपालले बताए । ‘‘वडाको सकृयतामा वडाको सवै ठाउँमा विद्युत विस्तार भएको छ भने कृषिमा लाग्नेहरुको लागि आर्थिक सहयोग गरिरहेका छौ, धेरै कृषकलाई अनुदानको व्यवस्था गरेको छौँ । सवै टोलहरुमा कृषि सडक खनेका छौँ । पानीको समस्या समाधान गरिएको छ भने सिंचाईको समस्या समाधानको लागि सिंचाई आयोजना निर्माणको तयारीको अन्तिम चरणमा छौँ ।’ वडाध्यक्ष नेपालले भने । गरिब तथा विपन्न परिवारको आर्थिक अवस्था सुधार गर्न विपन्न लक्षित अन्य कार्यक्रम समेत सञ्चालन भईरहेको वडा कार्यालयको दावी छ । आफ्नो क्षेत्रलाई नमूनासंगै व्यवस्थित बनाउन योजनाबद्ध रुपमा अभियान सञ्चालन गरेको वडा कार्यालयको भनाइ छ । वडा कार्यालयले अभियानको रुपमा फुसको छानो हटाउने कार्यक्रम सञ्चालनमा ल्याएसंगै स्थानीय नागरिक हर्षित भएका छन् । स्थानीय कृष्ण गिरीले भने,‘वडा कार्यालयले सञ्चालन गरेका धेरै कार्यक्रमहरु प्रभावकारी छन् । वडाको सकृयतामा बर्षौदेखि फुसको चुहिने छानोमा बस्दै आएका परिवारलाई लक्षित गरेर जस्तापाताको छानो लगाइदिएको छ । यो निकै राम्रो काम हो । यसले वडाबासीको मुहारमा उत्साह थपेको छ ।’ वडाले थोरै बजेटमा भएपनि स्थानीयको औचित्य र आवश्यकताको आधारमा योजना तथा कार्यक्रम सञ्चालन गरेकोमा सन्तुष्ट रहेको अर्की स्थानीय चिनीमाया भारतीले बताए । भारतीले भने,‘थोरै बजेटमा भएपनि वडास्तरमा सञ्चालन भएका कामहरु प्रभावकारी छन् । हाम्रा वर्षौँदेखिका धेरै समस्याहरु थिए । ती कामहरु अधिकांश पुरा भएका छन् । वडा कार्यालयले जनताको समस्या तथा आवश्यकताको आधारमा योजनाहरु सञ्चालन गरेको छ । हाम्रो सवै टोलमा कृषि सडक विस्तार भएको छ । कृषि उपजलाई सहज रुपमा बजारसम्म विक्रीका लागि लैजान सकेका छौँ । यो भन्दा ठूलो आशा के गर्नु र हामी सन्तुष्ट छौँ ।’
सवैको घरमा विजुली
वडाको सवै घरमा केन्द्रीय विद्युत् प्रसारणलाईन विस्तार भएको वडा कार्यालयले जनाएको छ । साविकमा एक मात्र वडा रहेकोमा देश संघीय संरचनामा गएसँगै यस ठाउँलाई दुई ओटा वडामा विभाजन गरिएको हो । नयाँ वडा कार्यालय स्थापना गरेरपनि जनतालाई चाहे अनुसारको सेवा दिएको वडाध्यक्ष नेपालको भनाइ छ । अहिले वडा परिसरमा स्वास्थ्य कार्यालयको स्थापना भएको उनको भनाइ छ । वडाध्यक्ष नेपालले भने,‘यो निकै ठुलो भूगोल भएकाले दुई वटा वडामा विभाजन गरेर जनतालाई सेवा दिएका छौँ । अहिले नयाँ संरचना भएकाले स्थापना कालमा धेरै चुनौती थिए । तर अहिले एउटा व्यवस्थित वडा स्थापना गर्न सफल भएका छौँ ।’ भौगोलिक विकटताका कारण विद्युत् विस्तारको लागि एक परिवारको लागि रु. पाँच लाखसम्म खर्च भएको उनको भनाइ छ । वडाका सवै घरमा विद्युत् विस्तार भएपनि नियमित विद्युत् नआउदा भने स्थानीयले समस्या भोग्नु परेको उनको भनाइ छ ।
‘ हामीले वडामा विद्युत् विस्तार गर्न सफल भएका छौँ । विद्युत विस्तार भएपछि यो ठाउँ प्रविधिमैत्री भएको छ । तर विद्युत् प्राधिकरणको लापरबाहीका कारण जनता सेवाबाट बञ्चित हुनुपर्ने बाध्यता छ । वडाबासीले ठुलो त्याग गरेर दुई ओटा विद्युत् गृह सञ्चालनमा ल्याउन सहयोग गरेका छन् । उनीहरुको खेत बाँजिएको छ’ उनले भने, ‘तर ती विद्युत् गृहबाट उत्पादन भएको विद्युत् हाम्रा जनताले किन उपभोग गर्न नपाउने ? यसको लागि सरोकारवाला पक्षले ध्यान दिन आवश्यक छ । यो समस्याको विषयमा जानकारी गराउन मेरो वडा क्षेत्रको गुम्बामा सर्वपक्षिय भेलाको आयोजना गरेर जनताले भोगेका समस्याको विषयमा जानकारी गराउने तयारीमा छु’।हालसम्म वडा नम्बर ६ कोट, वडा नम्वर ४ नागी र वडा नम्वर ३ अन्नपूर्ण पूर्णरुपमा फुसको छानोमुक्त भएका छन् भने वडा न. ५ खावा, वडा ७ कोट र ८ गोगनेमा पनि अभियान सञ्चालन भईरहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ ।