विराटनगर । विराटनगरस्थित कोशी अस्पताललाई मुलुककै नमूना र शिक्षण अस्पतालका रुपमा विकास गरिने भएको छ । मुलुककै पुरानो सरकारी अस्पतालमध्येको एक यो अस्पताल विसं १९४७ मा मोरङको रङ्गेलीमा स्थापना भई २०१३ सालमा विराटनगरमा स्थानान्तरण भई त्रिभुवन स्मारकबाट सञ्चालनमा आएको हो । तत्कालीन ५० श्ययाको यो अस्पतालमा हाल ३५० श्यया छन् । पाँच बिघा आठ कट्ठा नौ धुर क्षेत्रफलमा फैलिएको यो अस्पतालमा हाल आन्तरिक स्रोतबाट समेत गरी २६७ चिकित्सक र कर्मचारी कार्यरत रहेको अस्पतालका सुरपरीवेक्षक डा सङ्गीता मिश्रले जानकारी दिनुभयो । साना ठूला गरी दुई दर्जनभन्दा बढी भवन रहेको सो अस्पतालका १३ कट्ठा तीन धुर जग्गा अरु संस्थाले अतिक्रमण गरेको पाइएको छ । जसमा नेपाल क्षयरोग निवारण संस्थाले आठ कट्ठा १० धुर, गणेश मन्दिरले एक कट्ठा १० धुर, नेपाल रेडक्रस सोसाइटीले एक कठ्ठा १३ धुर र देवकोट पुस्तकालयले दुई कट्ठा जग्गामा आफ्ना संरचना निर्माण गरेको अस्पतालले जनाएको छ । यतिधेरै पुरानो अस्पताल अहिले आफै विरामी छ भन्दा अतियुक्त नहोला । किनकि यति धेरै पुरानो अस्पताल भए पनि यसले विशिष्ट प्रकारको स्वास्थ्य सेवा प्रदान गर्न सकेको छैन ।
अत्यधिक भीड हुने सो अस्पतालमा अहिले अवस्थामा सर्वसुलभ, गुणस्तर सेवा, स्वच्छ वातावरणमा सञ्चालन गर्न पुरानो संरचना बाधकका रुपमा छ भने नयाँ संरचना बनाउन रु पाँच अर्बभन्दा बढी खर्च लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । अस्पतालमा वर्षात्को समयमा परिसरमा पानी जम्ने, फोहर थुप्रिने, सडकबाट झण्डै दुई फिट गहिरो देखिने, झट्ट हेर्दा सुकुम्वासीले घेरेकोजस्तो देखिने यो अस्पताललाई अत्याधुनिक शिक्षण अस्पतालमा परिणत गर्न पुराना संरचना भत्काएर नयाँ संरचना बहुतले बनाउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।
अहिले अस्पतालमा आइसियु, सर्जिकल र न्यूरो तथा नेफरोलोजी सेवा प्रदान गर्न नयाँ भवन निर्माण गर्न सङ्घीय सरकारबाट सङ्घीय आयोजना कार्यान्वयन एकाइ९भवन० कार्यालयको नाममा रु ४० करोड बजेट विनियोजन भई आएकाले अस्पतालले सरोकारवालसँग धारणा लिन आज अस्पतालको सभाकक्षमा आयोजित छलफलमा सो धारणा आएको हो । छलफलमा प्रदेश ल्याब भवन अस्पतालको हाताभित्र बनाउने र अस्पतालको जेनेरेटर हाउस भएर जाने सार्वजनिक बाटोको व्यवस्थापन गनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।