भिडियो सहित – श्यामशिलामा नेकपाको चुनावी सभा सम्पन्न


भोजपुर,९ मङ्सिर ।
भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चुनावी सभा सम्पन्न भएको छ । यहि १४ गते हुन लागेको वडाध्यक्ष पदको उपनिर्वाचनलाई लक्षित गर्दै नेकपाले कार्यक्रमको आयोजना गरेको हो । चुनावी सभालाई नेकपाका केन्द्रिय सदस्य तथा भोजपुर इन्चार्ज सुदन किराँती, केन्द्रिय सदस्य राजेन्द्र राई लगाएत जिल्ला तथा स्थानीय तहका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले नेकपा तर्फबाट वडाध्यक्षका उम्मेदवार जितेन्द्र राईलाई भारी बहुमतले वियजी गराउन स्थानीयलाई आग्रह गरेका छन् ।

कार्यक्रममा वोल्दै नेकपा केन्द्रिय सदस्य तथा संघिय सांसद सुदन किराँतीले सो वडाको विकासमा केन्द्रिय सरकारको तहबाट पहल गर्ने बताए । साथै उनले वडा नं १ श्यामशिलाको खानेपानी, विद्युत तथा सडक विस्तारमा काम गर्ने समेत बताए । किराँतीले भने‘ अहिले केन्द्र, प्रदेशसंगै स्थानीय तहमा नेकपाको सरकार छ, अब तपाईको वडामा पनि नेकपाका उम्मेदवार विजयी गरेर पठाउनुहोस्, यहाँको विकासको जिम्मा हामी लिन्छौ।’
सो क्षेत्रको विकासमा लागि विभिन्न कामको थालनी भइसकेको बताउदै उनले यो वर्षभित्र विद्युत विस्तार गरि सक्ने समेत बताए ।किराँतीले भने ‘ मैले यहाँको समस्यालाई नजिकबाट नियालेको छु, यी समस्याको समाधन गाउँपालिकाले गर्न सकेन भने त्यो काम प्रदेश र केन्द्र सरकारको तर्फबाट गराउन मेरो पहल रहन्छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश–१ सभा सदस्य तथा नेकपा केन्द्रिय सदस्य राजेन्द्र राईले प्रदेश सरकारको नजरमा भोजपुर विकासको पहिलो प्राथमिकतामा रहेको बताए । उनले जिल्लाको सडक, विद्युत, खानेपानी लगाएतका क्षेत्रमा दर्जन बढी ठुला योजनाका काम अगाडी बढी सकेको जानकारी दिए । राईले भने‘ संघियतामा कार्यान्वयमा आएपछि विकासको लहर चलेको छ, यो देशलाई नेकपाको नेतृत्व सरकारले समृद्ध बनाउछ, त्यसैले तपाईको वडाको विकास लागि पनि नेकपाको उम्मेदवारलाई विजयी गराउन आवश्यक छ, त्यसमा मेरो तर्फबाट पनि पहल रहन्छ । ’
त्यस्तै नेकपा पौवादुङ्मा इन्जार्ज तथा गाउँपालिका अध्यक्ष किरण राईले आफू गाउँपालिकाको विकासमा लागेका बताउदै, वडा नं १ श्यामशिलामा पनि नेकपाको उम्मेदवारलाई जिताउन गरे । गाउँपालिकाको सवै वडामा जिल्ला अन्य स्थानीय तहको तुलनामा सबै भन्दा बढी रकम वडा कार्यालयमा पठाएको भएपनि यसअघि सोचे जस्तो विकास नभएको धारणा राखे । राईले भने‘ हामीले सवै वडामा समान रुपमा बजेट विनियोजन गरेका थियौ तर अहिले घर दैलोको अभियानमा डुल्ने क्रममा सोचे जस्तो विकास भएको देखिएन,सामाजिक सुरक्षाभक्ता नपाएको तथा अनुदानमा मल ल्याउनको लागि रकम पठाएको भएपनि काम नभएको स्थानीयको गुनासो छ, यो यस वडा कार्यालयको लापरवाही हो, यसमा काङग्रेसको नेतृत्व चुकेको छ ।’
गत साउनमा तत्कालिन वडाध्यक्ष रुद्र बहादुर पाण्डेको निधन भएपछि यहाँ उपनिर्वाचनको हुन लागेको हो । पाण्डे काङग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी बनेका थिए । अहिले नेपाली काङग्रेसबाट वडाध्यक्षको उम्मेदवारमा सम्मर बहादुर कार्की उम्मेदवारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार