घट्दै हिमाली क्षेत्रको पहिचान


पाँचथर , ८ मंसिर । हिमाली तथा उच्च पहाडी क्षेत्रमा चौंरीपालन गर्ने निकै पुरानो चलन हो। यतिबेला चिसो बढेसँगै चौंरी तुलानात्मक रुपमा औल मानिएको क्षेत्रतिर झार्ने बेला सुरु हुन लागेको छ। चौंरीपालन व्यवसायलाई हिमाली क्षेत्रको पहिचानको रुपमा लिइन्छ। चौंरीपालन व्यवसायबाट राम्रै आम्दानी हुन्छ। तर, बर्सेनि चौंरीपालन गर्नेको संख्या घट्दै गएको छ। नयाँ पुस्ताको घटेदो आकर्षण, जंगली जनावरको आक्रमणको त्राससँगै वैकल्पिक व्यवसायका कारण ताप्लेजुङ, पाँचथरका हिमाली तथा उच्च पहाडी क्षेत्रमा चौंरी पाल्ने परम्परा घट्दै गएको हो।

ताप्लेजुङको खम्बाचेनमा ५६ वर्षीय पेम्बा शेर्पाले चौंरीपालन गर्ने काम घट्दै गएको सुनाइ्न। खम्बाचेनमा श्रीमान नुपु शेर्पा र पेम्बाले चौंरी पालेको वर्षौं भइसक्यो। बिहे भएर आएदेखि चौंरीपालनमा लागेको सुनाउँदै उनले अहिले यो क्षेत्रमा चौंरीपालन गर्ने चलन घट्दै गएको सुनाइन्। ‘याक, चौंरी त हिमालको पहिचान हो। तर, जंगली जन्तुले खाएर हैरान पारेको छ। अहिले त चौंरीपालन गर्नै छाडिसके,’ पेम्बाले भनिन्, ‘छोराहरु बेच्दिनु भन्छन्। सानैदेखि पाल्दै आएकाले माया लाग्छ। अब हामी बुढाबुढी दुःख गर्छौं। छोराछोरीले चौंरीतिर रहर गरेका छैनन्। हाम्रोमात्र हैन अरुको पनि त्यस्तै हो।’

उनले भनेझै कञ्चनजंघा पदमार्ग क्षेत्रमा चौंरी गोठ घट्दै गएको छ। गोठ भत्किएका देखिन्छन् भने चौंरी पनि अत्यन्त कममात्रै देखिन्छन्। पर्यटकको बढोत्तरी भइरहेको यो क्षेत्रमा चौंरीपालन परम्परा विस्तारै घट्दै गएको देखिन्थ्यो। बाटोमा होटल, टी हाउस बनिरहेका देखिन्थे भने गोठहरु रित्ता थिए। घुन्सामा होटल र घरहरु बन्ने क्रम बढ्दै गएको छ। तर, यहाँ चौंरी देख्न मुस्किल पर्छ।

चिसो बढ्न थालेपछि विभिन्न ठाउँबाट फले भन्ने ठाउँमा चौंरी ल्याइन्थ्यो। फराकिलो चौर जस्तो यो ठाउँमा हिउँदमा चौंरी राख्नका लागि दर्जनौं गोठ बनाइएका छन्। तर, यहाँ धेरै गोठ भत्किन थालेका छन्। गोठमा चौंरी राख्न छाडेको जस्तो देखिन्थ्यो। चौंरी पनि अत्यन्त कममात्र देखिन्थे। स्थानीयका अनुसार यतिबेला यो ठाउँमा चौंरी भरिभराउ हुन्थे। पाल्नेहरुले पनि संख्या घटाउदै लगेका छन्।

ब्वासो लगायत जंगली जनावरको कारणले समस्या पारेको फलेका ओङ्दी शेर्पाले बताए। ‘यहाँ चौर भरिभराउ हुन्थ्यो, बिस्तारै बर्सेनि घट्दै छ। कमाइ त राम्रो हुन्छ। तर, दुःख धेरै छ। नयाँ पुस्ताको रहर देखिँदैन,’ उनले भने, ‘हामीले पुख्र्यौली परम्परा कायम राखेका छौं। भावी पुस्ताले चौंरी पाल्छन् भन्ने देखिँदैन।’ भावी पुस्ताले चौंरी व्यवसायलाई निरन्तरता दिनेमा उनी विश्वस्त छैनन्।

चौंरी महोत्सव गर्ने, अन्य प्रवद्र्धनात्मक काम गर्ने तथा आम्दानी राम्रै भए पनि नयाँ पुस्ताको आकर्षण देखिँदैन। चौंरी पालेर बस्ने धेरैजसो उमेर ढल्किँदै गएका भेटिन्छन्। थोरै संख्यामा युवा पुस्ता संलग्न छन्। ताप्लेजुङको फक्तालुङ, सिदिंगमा, शृजंगा, मिक्वाखोला, मैवाखोला गाउँपालिकाको विभिन्न ठाउँमा चौंरीपालन हुन्छ। यस्तै पाँचथरको फालेलुङ र याङवरक गाउँपालिकाको विभिन्न ठाउँमा चौंरीपालन गर्ने किसान भेटिन्छन्।

राम्रोसँग आम्दानी हुने भए पनि नयाँ पुस्ताको आकर्षण नभएको पाँचथर, चित्रेका राजकुमार राई बताउँछन्। ‘गोठ पाल्ने हाम्रो पालोमा मात्र होला। युवा विदेशिएका छन्। लेकाली दुःखमा बसेर काम गर्ने रुचि नै छैन। हेर्दाहेर्दै गोठ पात्लिदै गएका छन्,’ राईले भने, ‘आम्दानी त राम्रो छ। तर युवा पुस्तालाई दुःख गरेर आम्दनी गर्न रहर छैन।’

औलमा घर भएकाहरु लेक चढेर पशुपालन गर्ने सांस्कृतिक र रोचक परम्परा छ। हिमाली क्षेत्रमा गार्मी यामभर चौंरी राखेर पूजापाठ गरी हिउँ पर्ने सिजनमा औल झार्ने गरिन्छ। चौंरीका विभिन्न प्रजाति छन्। दूध र मासुजन्य प्रयोजनका लागि चौंरी पालिन्छ। विभिन्न किसिमका सुख, सुविधा, आधुनिक प्रविधिको विकास तथा युवाको कम आकर्षण हुँदा यो चलन घट्दै गएको हो। पुख्र्यौली विरासतको संरक्षणका लागि थोरैले मात्र गोठ पाल्ने गरेको देखिन्छ।

विगत केही वर्षयता गोठ बेच्नेको संख्या बढ्दै गएको सञ्चालक बताउँछन्। उच्च लेकाली क्षेत्रमा गोठ पालिने हुँदा सन्तानले यतातिर ध्यान नदिने, कामदार अभाव हुनेलगायत कारणले गोठको संख्या घट्न थालेको प्राङ्बुङमा गोठ चलाएर बसेका जंग राई बताउँछन्। ‘हामीले दुःख गरिरहेका छौं। कमाइ पनि राम्रो छ। यही कमाइले छोराछोरीलाई पढाएका छौं। जग्गा जोडेका छौं,’ उनले भने, ‘अब यसै भन्न सकिन्न।’ लेकाली क्षेत्रमा सुविधा विस्तार हुन सकेको छैन। धेरै दुःख गर्नुपर्ने भएकाले गोठबाट पलायन हुने संख्या बढेको राईको भनाइ छ।

लेकाली गोठसम्म खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री पु¥याउन कठिन छ। गाउँबाट गोठसम्म भारी बोकेर पु¥याएको सामग्री महंगो हुन्छ। स्वास्थ्य, शिक्षाजस्ता सुविधा कम छन्। गोठमा परिवारै बस्नेका नानीहरुले विद्यालय जान पाउँदैनन्। बिरामी हुँदा कयौं दिन यहीँको जडीबुटीमा निर्भर हुनुपर्छ। ‘पहिला धेरै गोठ थिए, अहिले कम हुँदै गएका छन्,’ ताप्लेजुङको कालीखोलाका भीम भण्डारीले भने। लेकमा असुविधाले पनि चौंरी पाल्ने क्रम घट्दै गएको उनको बुझाइ छ।

ठुल्ठूला चरन भू–भागमा परम्परागत चौंरी गोठ सञ्चालन भएका छन्। दूधजन्य वस्तु उत्पादन, मासु उत्पादन तथा बिक्री वितरण यहाँको प्रमुख क्रियाकलाप हुन्। किसानले मासु, घ्यू, छुर्पी, चमरलगायत उत्पादन बिक्री गर्छन्। यहाँका उत्पादन खरिद गर्न व्यापारी आफैं आउँछन्। लेकाली भूभाग, जडीबुटीबारे ज्ञान राख्ने उनीहरु दैनिक पशुपालनमा नै ब्यस्त हुन्छन्। दाल, भातका साथै च्याउ, मासु, जाँडमा रुचि राख्ने चौंरीपालकको जीवनशैली रोचक पाइन्छ। चौंरीको सुरक्षाका लागि सबै गोठको छेउमै डरलाग्दो कुकुर बाँधिएको हुन्छ।

हरियाली भूभागमा चौंरीका गोठ आकर्षक देखिन्छन्। एउटा गोठदेखि अर्को गोठ पुग्न निकै समय लाग्छ। मंसिरदेखि फागुनसम्मको जाडोमा चौंरी केही तल ९औल० झारिन्छ भने अरु समय माथि राखिन्छ। विदेशबाट आएकाहरु पनि चौंरीसँग रमाएका देखिन्छन्। चौंरीपालनमा खासै चासो नराखे पनि उनीहरु फोटो खिच्नैकै लागि पनि दुहुन रहर गर्ने पाँचथर फालोटका गोठ सञ्चालक चन्द्र नेपाल बताउँछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार