बझाङ, ३ मंसिर । चर्पी अर्थात शौचालय भनेपछि सबै सर्वसाधारण व्यक्तिहरुको दिमागमा दिसा पिसाब गर्ने ठाँउ भनेर सम्झन्छन् । तर बझाङको केदार स्यँ गाँउपालिका वडा नम्बर २ जुब गाँउका सबै स्थानीय बासिन्दाहरुले भने चर्पी अर्थात शौचालय भनेपछि घाँस दाउरा राख्ने ठाँउ भनेर सम्झन्छन् । यो यहाँका स्थानीय बासिन्दाको रहर होइन बाध्यता हो ।
गाउँका सबै स्थानीयको घरमा शौचालय ९चर्पी० बनेका छन् । झण्डै एक सय परिवारको बसोबार रहेको यस गाउँका अधिकांश स्थानीयका घरमा शौचालय बनेका भएपनि एक पटक प्रयोग गन नपाउँदै कतिपयका शौचालय भत्की सकेका छन् भने कतिपयका बनेका शौचालय भित्र घाँस दाउरा राख्ने ठाँउ बनाएका छन् ।
२०७० सालदेखि जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गर्नका लागी तामझामका साथ अभियान सञ्चालन गरेर क्षणिक समयका लागि अभियान सफल पारे पनि अहिले जिल्लाका दुरदराज र अधिकांश ठाँउका स्थानीय बासिन्दा पुरानै शैली खेतबारीका किल्ला र मेलापात जंगलमा नै दिशा पिसाब गर्ने गरेका छन् । कतिपय ठाँउमा खानेपानीको समस्याका कारण भएपनि कतिपय ठाँउमा बेवास्ताका कारण शौचालय प्रयोग नगर्ने गरेको पाइएको छ ।
खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नकै लागि ठुलो अभियान नै संचालन गरी २०७२ साल मंसिरमा जिल्लालाई तामझामका साथ खुला दिसामुक्त घोषणा गरिएको थियो । तर, शौचालयमा प्रयोग गर्न पानीको अभाव भएपछि अहिले केदारस्युँ गाउँपालिकाको जुब गाउँमा बनाइएका शौचालयलाई घाँस दाउरा राख्ने ठाउँ बनाइएको छ । दिसापिसाब गर्न जंगल जानुपर्ने बाध्यता छ । पानी नभएका कारण आफुहरुले घरबाट जंगलमा गएर खुल्ला दिशा गर्नुपर्ने बाध्यता रहेको केदारस्युँ गाउँपालिकाको वडा नं। २ जुब गाउँमा शिबराज कुमार विकले बताए । प्रायः सबैको घरमा शौचालय भए पनि शौच गर्न जंगल जानुपर्ने बाध्यता छ । शौचालयमा प्रयोग गर्न पानीको अभाव भएपछि आफुहरुले बनेका शौचालयमा घाँस दाउरा राख्ने गरेको उनको भनाई छ ।
यस्तै सौचालय निर्माण गर्नु अघि नै जिल्लादेखि केन्द्रसम्मका हरेक नेता तथा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका कर्मचारीहरुलाई समेत गाँउमा खाने पानी विना शौचालय बनाउनु र नबनाउनुको औचित्य नरहने पहिला गाँउमा खानेपानीको ब्यवस्था गरी दिन सबै गाउँलेहरुले अनुरोध गरेको र उक्त कुराको सुनुवाई नभएको अर्जुन ओखेडाले बताउए । जसका कारण यहाँका स्थानीय बासिन्दाले चर्पि निर्माण गरेर पनि एक पटक प्रयोगमा नआएको बताए ।
गाउँमा खानेपानीको अभाव भएपछि जिवनयापनमा नै असहजता भएको उनीहरुको भनाई छ । ‘शौचालय त परै जाओस्’, गिता लुहारले भनिन्, पानी पिउनलाई पनी कम्ता समस्या छैन । कति दिन त पानी नभएका कारण भोक भोकै बस्नु पने बाध्यता छ । यसको मारमा बढी जस्तो हामी महिलाहरु र स साना बालबालिकाहरु परेका छौँ ।’
यहाँका अधिकांश दलितहरुको बसोबास छ । यहाँका स्थानीय बासिन्दाहरुले र पशु चौपायाले धित मुरुन्जेल पानी समेत पिउन नपाएको स्थानीय बासिन्दा अम्मर ओखेडाले बताए । पानी नभएका कारण खेती योग्य जमिन पनि सिंचाईको अभावमा बाँझो छ । गाउँमै रहेको पानीको मुलबाट पहिला गाउँमा खानेपानीका दुई धारा राम्रैसंग चलेको सम्झँदै स्थानीय वृद्ध चुने लुहारले जनसंख्या बढ्दै गएसँगै जंगलपनि मासिदै गएको र पानीका मुहान पनि सुक्दै गएपछि गाउँमा पानीको हाहाकार मच्चिएको बताइन् ।
गाउँमा उपभोग गर्न मिल्ने गरेर ल्याउन पानीको मूल नै नभेटिएको तर खोजी कार्य जारी रहेको केदारस्युँ गाउँपालिका २ नम्बर वडाका वडा अध्यक्ष चक्र विकको भनाई छ । यहाँका सबै स्थानीय बासिन्दाहरुले सौचालय निर्माण गरेका भए पनि पानीको समस्याका कारण नै यहाका सबै स्थानीय बासिन्दाले निर्माण गरेका शौचालयहरुमा घाँस दाउरा राख्ने ठाँउ बनाएको उनले बताए । यस समस्याको समाधानका लागी आफुहरुको ध्यानआकर्षण भएपनि वडाबाट मात्रै नभएर गाँउपालिका र प्रदेश सरकारले समेत यहाँका जनताको मर्म बुझ्न आवश्यक रहेको उनको भनाई छ । सुत्केरी महिलाहरुलाई पानी नभएका कारण थप समस्या हुने गरेको उनको भनाई छ । पानीकै कारण यहाँका स्थानीय बासिन्दाहरु विच नै झगडा तथा कुटाकुट समेत हुने गरेको उनले बताए ।