भोजपुर, २८ कात्तिक ।
भोजपुरको अरुण गाउँपालिकामा अज्ञात समूहले सात ओटा बाख्रा काटेर मारिदिएका छन् । अरुण गाउँपालिका वडा नं. ६ जरायोटारको खर्काउनेमा रणबहादुर विश्वकर्माको १ वटा बाबुराम विश्वकर्माको तीन वटा, भरत विश्वकर्माका तीन वटासहित ७ वटा बाख्रा अज्ञात समूहले काटेर मारिदिएको हो । खोरमा बाँधिएका बाख्रा काटेर मारिदिएपछि स्थानीयबासी त्रसित भएका छन्। खर्काउनेमा तीनजना किसानका घरका बाख्रा काट्ने त्यही समूहले जरायोटारको केन्द्र पाल्पालेस्थित केही पसलमा तोडफोड गरेको हुनसक्ने पनि स्थानीय टीकाराम बराइलीले जानकारी दिनुभयो । खोरमा बाँधिएका बाख्रा काटेर मारिएको र पसल तोडफोडको घटनापछि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।