काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले देशलाई कमजोर पार्ने तत्वका गतिविधि निस्तेज पार्न भरपर्दो सूचना आवश्यक पर्ने बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बुधबार दोस्रो समूहको अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देशभित्र र बाहिर रहेका गलत व्यक्ति वा समूहका अतिरिक्त संगठित अपराध, सम्पत्ति शुद्धिकरण, लागूऔषध, मानव वेचबिखन र साइबर क्राइम जस्ता गतिविधिहरुले देशलाई कमजोर बनाउने उनको भनाइ थियो । ‘यस्ता गतिविधिलाई निस्तेज पार्न सुदृढ र भरपर्दो सूचना आवश्यक हुन्छ,’ उनले भने, ‘तसर्थ राष्ट्रिय अनुसन्धान विभागलाई अझ सुदृढ र विश्वसनिय बनाई व्यवसायिक इन्टिलिजेन्स संस्थामा रुपान्तरण गर्न यस तालिमले थप मद्दत गर्नेछ ।’ गृहमन्त्री थापाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने नाराका साथ सरकारले आम नागरिकमा सुशासनको प्रत्याभूति दिन लिएको अभियानमा सुरक्षा निकायहरुको विशेष भूमिका हुने उल्लेख गरे । यस्ता प्रशिक्षणहरुले अझ सदाचारी, नैतिकवान र नागरिकप्रति जिम्मेवार र प्रतिवद्ध बनाउन मद्दत पुग्ने उनको भनाइ थियो ।
गृह मन्त्रालयबाट लागू भएको गृह प्रशासन सुधार कार्य योजना २०७४ अन्तर्गतको ८२ बुँदे कार्ययोजनालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै सुरक्षा निकायहरुको कार्यक्षमतामा अभिवृद्धि हुन जरुरी रहेको भन्दै उनले यस प्रशिक्षणले त्यो कार्यलाई पूरा गर्न सक्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विभिन्न जिल्लामा अनुसन्धान संयन्त्र कमाण्ड गर्ने अधिकृतहरुको नेतृत्व क्षमता अभिवृद्धि गरी आगामी दिनमा प्रभावकारी कार्यसम्पादन लागि तालिम उपयोगी हुने बताए । राष्ट्रिय सुरक्षा सम्बन्धी देखिएका चुनौतीहरुको सामना गर्न अनुसन्धान अधिकृतहरुमा सुरक्षा चुनौतीहरुको मूल्याङ्कन गर्ने, सुरक्षा रणनीतिक एवम् योजना निर्माण गर्ने र सम्बन्धित सुरक्षा निकायहरुसँग प्रभावकारी समन्वय गर्न सक्ने क्षमता हुन अपरिहार्य रहेको उनले बताए ।
राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीले तालिमको महत्वबारे प्रकाश पारेका थिए । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले प्रशिक्षण सम्बन्धी जानकारी गराएका थिए भने राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक उत्तम खनालले प्रशिक्षार्थीहरुको तर्फबाट धारणा राखेका थिए । ४५ कार्यदिनको उक्त तालिम राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक र प्रमुख अनुसन्धान अधिकृतहरुका लागि सञ्चालन गरिएको थियो । तालिममा विभागका १५ जना उप–अनुसन्धान निर्देशक र १० जना प्रमुख अनुसन्धान अधिकृत सहभागी थिए ।