आलमको बयान सकिएनस् भोलि पनि जारी रहने


रौतहट ः राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता आफताब आलमको बयान आज दोश्रो दिन पनि सकिएन । बिहान १० बजे नै अदालत पुर्‍याइएका आलमको बयान साँझ ४ं।३० बजे सम्म चलेको थियो ।

जिल्ला अदालत रौतहटको चार नम्बर इजलासमा आज भएको बयानमा आलमलाई २३ वटा प्रश्न मात्रै सोध्न भ्याइएको थियो । पहिलो दिनको बयानमा मंगलबार आलमलाई ९ वटा प्रश्न सोधिएको थियो ।आजसमेत गरेर आलमको ३२ वटा बयान लिइसकिएको छ । न्यायाधीश दिपक ढकालको इजलाशमा आलमलाई मिसिलअनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने काम भएको सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिनुभयो ।

न्यायाधीशले आलमलाई घटनासम्बन्धी मिसिल, घटना भए नभएको, कसरी के भएको र आलममाथि लगाइएको अभियोगको बारेमा प्रश्न सोधेकोमा आलमले अधिकांश प्रश्नको इन्कारी बयान दिएका थिए । उनले घटना नै नघटेको र आफूलाई झूटो आरोप लगाइएको जवाफ दिएका थिए । प्रहरीले अनुसन्धान गरी मिसिलमा सामेल गरेको अधिकांश प्रमाणहरुको बारेमा पनि आलमको जवाफ इन्कारी नै रहेको थियो ।आलममाथि लगाइएका तीन मुद्दामध्ये आज कर्तव्य ज्यान मुद्दासम्बन्धी बयान मात्र सकियो । आलमलाई भोलि बिहीबार ज्यान मार्ने उद्योग र बम विस्फोटनसम्बन्धी कसुरका बारेमा प्रश्न सोधिने अधिवक्ता पुष्पराज पौडेलले बताउनुभयो ।

बेन्चले मिसिल अध्ययन गर्ने पूर्ण समय नपाएका कारण पनि बयानको क्रम सुस्त भएको अदालत श्रोतले बताएको छ । गम्भीर प्रकृतिको घटनाको बयान आज दोश्रो दिनमा पनि नसकिएर तेश्रो दिनका लागि तोकिएकाले अदालती प्रक्रियाको गति बढाउनु पर्ने आवश्यक्ता देखिएको छ ।

बयानको काम बाँकी रहेकोले आलमलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको छ ।पीडित वादीको तर्फबाट बहसका लागी पूर्व महान्यायधिवक्ता डा। युवराज संग्रौलासहित अधिवता पुष्पराज पौडेल, आशिक राम कार्की रौतहटमा छन् भने
अधिवक्ता गोविन्द शर्मा बन्दी र ओमप्रकाश अर्याल पनि आउँदै गरेको अधिवक्ता कार्कीले जानकारी दिनुभयो ।

प्रतिवादीका तर्फबाट बहस गर्न कानून व्यवसायी आए पनि वकालतनामा गर्न बाँकी रहेको जिल्ला अदालत रौतहटले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार