काठमाडौँ । काठमाडौंको महाराजगञ्जबाट गत आइतबार २ करोड ६७ लाख रुपैयाँ नगदसहित पक्राउ परेका २५ जना भीआईपी जुवाडेको यो वर्षको भाइटीका प्रहरी हिरासतमै बितेको छ । जताततै हर्षोल्लाका साथ देउसीभैलो खेलिरहेको बेला उनीहरु भाइटीका आउन २ दिन मात्र बाँकी रहँदा पक्राउ परेका हुन् । पक्राउ परेका २५ जनामध्ये २ जनाले आफ्नो दिदीबहिनीको हातबाट भाइटीका लगाएको र २३ जनाले नलगाएको प्रहरीको भनाइ छ ।
पवित्र कुमार कार्की र कृष्णराज भण्डारीले आफ्नो दिदीबहिनीको हातबाट हिरासतमै भाइटीका लगाएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले जानकारी दिए । सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि सोमबार बिहान ११ देखि दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको थियो । तिहारको चाड परेको भनेर एक जुवाडेकी आफन्त रेखा कुँवरले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
महाराजगञ्जको पिपलमार्गबाट झण्डै ३ करोड रुपैयाँसहित पक्राउ परेका २५ जनालाई प्रहरीले सोमबार अदालत पुर्याए पनि समय अभावका कारण उनीहरुबारेमा सुनुवाइ हुन नपाएकाले प्रहरी हिरासतमै फर्काइएको थियो । आज उनीहरुको विषयमा पक्राउ र थुना गैरकानुनी हो कि होइन भनेर बहस हुनेछ र गैरकानुनी देखिए थुनामुक्त हुनेछन् ।
पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् । यसैगरी पक्राउ पर्नेमा हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा पनि रहेका छन् ।