१८ बिघा जमिन मन्दिरको नाममा फिर्ता


काठमाडौं, ५ कात्तिक । जगन्नाथ दास वैष्णवले गैरकानुनी रूपमा आफ्नो नाममा दर्ता गरेको करिब १० करोड रूपैयाँ मूल्य पर्ने जमिन मन्दिरका नाममा ल्याउने निर्णय गुठी संस्थानले गरेको छ।

महन्तको नाममा रूपन्देहीको सिआरी गाउँपालिका–३ (साबिक हर्नैया गाउँपालिका वडा नं. १० मा रहेको करिब सात बिघा जमिनको रामजानकी मठ गुठीको नाममा स्रेस्ता तथा पुर्जा कायम गर्ने निर्णय भएको गुठी संस्थानले जनाएको छ। स्थानीयका अनुसार उक्त जमिनको मूल्य प्रतिबिघा करिब डेढ करोड रूपैयाँ छ।संस्थानले जगन्नाथसहित सोही गाविसमा कौशलकिशोर दासको नाममा रहेको थप ११ बिघासहित कुल करिब १८ बिघा जमिनको जग्गा धनी दर्ता स्रेस्ता मन्दिरको नाममा तयार गर्न मालपोत कार्यालय रूपन्देहीलाई पत्राचार गरेको छ। कौशलकिशोर जगन्नाथअघिका महन्त हुन्। उनको मृत्यु भइसकेको छ।

पदीय आचरणविपरित मन्दिरको जग्गा बिक्री गरेको प्रमाणित हुँदा पनि महन्तलाई पदमुक्त नगर्दा संस्थानको उच्च नेतृत्वसँग मिलेमतोको आशंका उब्जेको छ।
संस्थानका प्रमुख प्रशासक नारायण चौधरीका अनुसार महन्तले मन्दिरको जमिन आफ्नो नाममा सारेको प्रमाणित भएपछि उक्त जमिन महन्तको नामबाट बदर गरेर मन्दिरको नाममा पुर्जा बनाउन मालपोत कार्यालय रूपन्देहीलाई पत्राचार गरिएको छ। चौधरीले भने, ‘अन्य जिल्लामा पनि महन्तको नाममा भएको जमिन खोजी भइरहेको छ।’

तत्कालीन हर्नैया गाविस वडा नं। १ मा कित्ता नं। २३० को दुई बिघा १९ कट्ठा १० धुर, कित्ता नं। ३२४ को एक बिघा ११ कट्ठा, कित्ता नं। ३३० को दुई कट्ठा ६ धुर, कित्ता नं। २५५ को दुई बिघा १२ कट्ठा सात धुर जमिन महन्तले आफ्नो नाममा दर्ता गरेको भेटिएपछि संस्थानले उक्त जमिनको पुर्जा मन्दिरको नाममा बनाउने भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार