लमजुङ, ३ कात्तिक ।पोखरेल गाउँ उन्नत गाईपालन व्यवसायमा लागेका छन् । गाईपालनबाट उनीहरूले दैनिक सात सय लिटर दूध उत्पादन गरिरहेका छन् । ६ महिनाभित्र शतप्रतिशत उत्पादन बढाउने लक्ष्यका साथ लागिपरेको उनीहरूले बताए ।
सुन्दरबजार नगरपालिका–७ को पाउँदीनजिकको पोखरेल फाँटका ४५ घर पोखरेल प्रायः सबैले गाई पालन गरी उदाहरणीय कृषक बन्ने अभियानमा जुटेका छन् । करिब आठ वर्षदेखि सो पेसा अँगाल्न सुरु गरेका उनीहरूले दुई वर्षअघिसम्म दूधको बजार सुनिश्चित नभएका कारणले गर्दा यो पेसा छाड्ने मानसिकतामा समेत रहेका थिए । तर, अहिले अगुवाको भूमिका रहेको धु्रव पोखरेल बताउँछन् । आफू र गाउँले दाजुभाइका लागि प्रेरणाको स्रोत सोही वडाको पाउँदी निवासी धु्रव नै हुन् ।
‘कामधेनु गाई फार्म’ दर्ता गरेर गाईपालन कार्य सञ्चालनमा जुटेको उनी बताउँछन् । उनले भने, ‘८ वर्ष अघि घरमा दूध खानका लागि किनेर ल्याएको एउटा गाईका माउ बाच्छाबाट यस्तो कार्य सम्भव भएको हो ।’
गाईले दूध दिएको देखेपछि गाई पाल्दा पनि हुने रहेछ भन्ने लाग्यो र गाईपालनलाई नै पेसा बनाएर व्यावसायिक रूपमा काम गर्न थालेको धु्रव बताउँछन् । उनका अनुसार कामधेनु गाईपालन फार्ममा यतिबेला साना ठूला गरेर ५१ वटा गाई र बाच्छी छन्, तीमध्ये २५ वटा ठूला छन् । १७ वटाले दूध दिन्छन्, बाँकी अबको एक डेढ महिनामा ब्याउनेवाला छन् । उनले भने, ‘ती गाईको दानाका लागि ४२ रोपनी खेतमा बहुवर्षीय नेपियर, मलाटो, सिफोर, सिटेरिया आदि उन्नत जातका घाँस लगाइएको छ ।
उनको फार्ममा आफू, श्रीमती र तीन जना कामदार पुरै खट्ने गरेको उनले जानकारी दिए । मासिक आम्दानी र खर्चबारे जिज्ञासा राख्दा उनले भने, ‘यतिबेला त खासै आम्दानी छैन ।’ अर्का गाइपालक किसान टंकराज पोखरेलले बाँदरले सताएर खेतबारीमा केही खेती लगाएर पनि खान नदिने भयो, त्यसैले गाईपालन गर्नुपर्ने बाध्यताले सुरु गरेको बताए । उनले भने, ‘तर यतिबेला भने हामी खुसी छौं । २÷४ हजार सरसाट चाहिँदा पनि अन्यत्र गाउँमा धाउनुपर्दैन ।