२६ करोडको लागतमा टी टेस्टिङ सेन्टर


इलाम, ३ असोज । चियाको राजधानी भनेर चिनिने इलामको सूर्योदय नगरपालिका–७ को कन्याम चियाबगान क्षेत्रमा चिया परीक्षण केन्द्र (टी टेस्टिङ सेन्टर) खुल्ने भएको छ । प्रदेश सरकारसँगको साझेदारीमा सूर्योदय नगरपालिकाले परीक्षण केन्द्र खोल्न लागेको हो ।

सूर्योदय नगरपालिका नगर कार्यपालिकाको बैठकले कन्याममा चिया परीक्षण केन्द्र खोल्नका लागि प्रदेश सरकारसँग साझेदारी गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता वीरबहादुर लाप्चाले बताएका छन् । उनका अनुसार कन्याममा चिया परीक्षण केन्द्र स्थापना गर्नका लागि चालू आर्थिक वर्षमै खर्च गर्नेगरी प्रदेश सरकारबाट ५ करोड विनियोजन भएको छ ।

उक्त बजेटको २० प्रतिशतले हुन आउने रकम १ करोड रुपैयाँ सूर्योदय नगरपालिकाले खर्च गर्ने र साझेदारीमा चिया परीक्षण केन्द्र खोल्नेगरी निर्णय भएको उनको भनाइ थियो । यसअघि सूर्योदय नगरपालिकाको प्रस्तावलाई प्रदेश सरकारले स्वीकार गरेर चिया परीक्षण केन्द्रको स्थापना गर्ने बाटो खुलेको हो । यसलाई चिया परीक्षण केन्द्रभन्दा पनि चिया अनुसन्धान केन्द्र नै बनाउने गरी नगरपालिकाले डिजाइन इस्टिमेटसमेत तयार गरेर प्रदेश सरकारलाई प्रस्ताव गरेको थियो ।

नगरपालिकाले तयार गरेको डिजाइन इस्टिमेटमा अनुसन्धान केन्द्र भवनको अनुमानित निर्माण रकम २६ करोडभन्दा बढी छ । देशकै सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन हुने सूर्योदय नगरपालिकामा अनुसन्धान केन्द्र स्थापना गरिएपछि चियाको बजार प्रवद्र्धन गर्न सकिने बताइएको छ ।

सूर्योदय नगरपालिकाभित्र ६३ वटा भन्दा बढी सानाठूला चिया प्रशोधन उद्योगहरू रहेका छन् । त्यसैले यस नगरपालिकालाई अर्थोडक्स चियाको राजधानीको रूपमा मानिँदै आएको छ ।

नगर कार्यपालिकाको आजकै बैठकले वडा नम्बर १० को फिक्कलस्थित फिक्कल माविमा नमुना भवन निर्माणका लागि प्रक्रिया थाल्ने पनि निर्णय गरेको पनि प्रवक्ता लाप्चाले बताएका छन् । चालू आर्थिक वर्षमा शिक्षातर्पmको नमुना विद्यालय भौतिक निर्माण कार्यक्रमअन्तर्गत फिक्कल माविमा भवन निर्माण गर्न इबिडिङबाट बोलपत्र आह्वान गरिन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार