कालिको, ११ असोज । निर्माण सुरु गरेको ३४ वर्ष भयो । कालिकोटको एकमात्र सुनथरालि विमानस्थल निर्माण अझै सम्पन्न भएको छैन । राजनैतिक खिचातानीले ३४ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएको विमानस्थल अहिले गौचरनको रुपमा परिणत भएको हो ।
तत्कालिन प्रर्यटनमन्त्री जिबन बहादुर शाहिले २९ माघ २०७३ मा पहिलो पटक परिक्षणका लागि जहाज अवतरण गरापनि त्यसपछि विमानस्थलमा हवाइजहाज बस्न पाउको छैन । अहिले हवाइजहाज बस्ने ठाउँमा गाई बस्तु चर्छन् ।
नरहरीनाथ गाँउपालिका वडा नं १ कोटवाडा निवासी दमन विष्टले आफ्नो घरभन्दा माथिपट्टीको निर्माणधिन सुनथराली विमानस्थल देखाउदै भने ‘काम सुरु गरेको ३४ वर्षभन्दा बढी हुन लाग्यो, विमानस्थल कहिल्यै पनि बनेन ।’ उनी भन्छन् ‘सानो छदा चिलगाडी बस्ने ठाउँ बन्न लाग्यो भनेको सुनेको थिएँ मै बुढो हुन लागेँ विमानस्थल बन्ने छाटकाट छैन ।’
नरहरिनाथ–१ का नेत्र विष्ट ‘३४ वर्ष सम्म पनि नबन्दा विमानस्थल बन्ने आश मरिसकेको बताउछन् । चुनावको बेला धेरै चर्चा हुने विमानस्थलले कालीकोटे जनताको जाहाज चढ्ने सपना सपनामै सीमित बनाइदिएको स्थानियको भनाई छ ।
सुनथराली विमानस्थल छेउमै भेटिएका गणेश विष्टले भने, ‘चुनावमा भोट माग्ने वेलामा मात्र सुनथराली विमानस्थल बन्छ भन्छन् ।’
२०४२ सालमा शिलन्यास गरि निमार्ण थालिएको विमानस्थल २०७६ वित्न लाग्दा पनि नबनेपछि कालीकोटबासीलाई विमानस्थलको कुरा सुन्न पनि दिग्क लाग्ने गरेको छ ।
यसभन्दा पहिले २०७३ साल माघ २९ गते सुनथराली विमानस्थलमा सफल परीक्षण उडान गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरको जहाज सफल अवतरण गरिएको थियो । कर्णाली प्रदेशका काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफुले सोचेजती मन्त्रालय चलाउन नपाएकाले विमानस्थलको काम पछाडि परेको बताए ।