उदयपुर, १०असोज । जिल्ला प्रहरी कार्यालय उदयपुरले एकै दिन १३ जना विभिन्न आपराधिक गतिबिधिमा संलग्न भई जिल्ला अदालतबाट दोषी करार भए पनि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध, वन, जालसाजी, सार्वजनिक अपराध, जुवातास र कुटपिट लगायत अभियोगमा अदालतबाट वर्षौं अघि दोषी सावित भए पनि सजाय भुक्तान नगरी फरार सूचीमा रहेका १३ जनालाई २४ घण्टाभित्र पक्राउ गरी अदालतको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपक्षिक एसपी बीरबहादुर बुढा मगरले जनाएको छ ।
बिहीबार साँझसम्म पक्राउ पर्नेमा सबै भन्दा बढी जुवातास खेलेको अभियोगमा जरिवाना तोकिएकाहरु ६ जना रहेका छन् । जालसाजीका दोषी २ जना, ज्यान मास्ने बेच्ने १ तथा कुटपिट र वन मुद्दाका दोषी १÷१ जना रहेको प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताए । उनका अनुसार पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– ६ का ३३ वर्षीय तिलकबहादुर खपाङगी वन मुद्दामा ०७१ कात्तिक ९ गतेको फैसला अनुसार १७ हजार जरिवानाका भागीदार हुन् ।
त्यस्तै जुवातास खेलेको अभियोगमा अदालतले दोषी करार गरी जनही २ सय रुपैंया जरिवाना तोकेकाहरु त्रियुगा नगरपालिका– ८ का ३४ वर्षीय राजकुमार राउत, सोही ठाउँका ३६ वर्षीय होमराज दनुवार, ३७ वर्षीय शेखरनाथ पोखरेल, ३८ वर्षीय सन्तोष खड्का, ३६ वर्षीय देवराज कार्की र ३६ वर्षीय नरेन्द्रकुमार सार्की रहेका छन् । उनीहरुलाई ०७२ चैत २१ गतेको इजालसले दोषी करार गर्दै सजायको भागीदार बनाएको एसपी मगरले बताए ।
त्यसैगरी अर्का पक्राउ त्रियुगा नगरपालिका–६ का २४ वर्षीय मनोजकुमार सदा लागू औषध अपराधमा दोषी ठहर भएका हुन् । उनलाई २ हजार जरिवानाको फैसला अदालतले सुनाएको छ । उनी ०७२ जेठ १ गतेको अदालती फैसला बमोजिम दोषी करार भएका हुन् । त्रियुगा नगरपालिका– १० का २० वर्षीय अबिलाश राई सार्बजनिक अपराधमा २०७३ साउन ९ गते अदालतबाट दोषी ठहर भई २ हजार जरिवानाको फैसलाका भागीदार भएको बताइएको छ ।
त्रियुगा नगरपालिका– १० कै ४२ वर्षीय सुशान्त खिलुङगे जालसाजी मुद्धामा ०६८ भदौ ५ गतेको फैसलाबाट २ सय ७७ रुपैया ८८ पैसा जरिवानाको भागीदार रही फरार थिए भने जालसाजी मुद्दा मै त्यत्ति नै जरिवानाको भागिदार भएका त्रियुगा नगरपालिका– १० का ५५ वर्षीय मानबहादुर सार्की पनि ०६८ भदौ ५ गतेको फैसलाका दोषी हुन् ।
त्यसैगरी २०६२ चैत १४ गते जिल्ला अदालतले ५० रुपैंया जरिवाना तोक्ने गरी फैसला गरेको ज्यान मास्ने बेच्ने अभियुक्त त्रियुगा नगरपालिका– ६ का ५८ वर्षीय घमानसिंह राउतलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । त्यस्तै कुटपिटको अभियोगमा अदालतले ०७१ जेठ १४ गते ६ सय जरिवाना तोके पनि भाग्न सफल त्रियुगा नगरपालिका– ६ कै ३२ वर्षीय कपिल चौधरी पनि बिहीबारै पक्राउ परेको एसपी मगरले बताए । पक्राउ सबैलाई बिहीबारै जिल्ला अदालतमा बुझाएर सजाय भुक्तानीको व्यवस्था मिलाउन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।