तेह्र करोडको शीत भण्डार शिलान्यास


चितवन  । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ सुर्तनीमा रू। १३ करोडको लगानीमा शीत भण्डार निर्माण हुने भएको छ । प्रदेश नं। ३ सरकार, खैरहनी नगरपालिका र नगरभित्रका सहकारीको संयुक्त लगानीमा शीत भण्डार निर्माण गर्न लागिएको हो । मंगलवार एक कार्यक्रमबीच प्रदेश नं। ३ का कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले शीत भण्डारको शिलान्यास गरे । लामाले प्रदेशका प्रत्येक जिल्लामा शीत भण्डार निर्माण गर्ने सरकारको योजनाअनुसार चितवनको खैरहनीमा शीत भण्डार निर्माण गर्न लागिएको बताए । कृषिलाई व्यावसायिक बनाउन शीत भण्डार अपरिहार्य भएको भन्दै लामाले निर्माण छिटो सक्न निर्देशन दिए । शीत भण्डारमा कृषि उपज राखेबापत किसानले केही शुल्क तिर्नुपर्ने बताइएको छ ।

प्रदेश सरकारको ७० प्रतिशत र खैरहनी नगरपालिका तथा नगरभित्रका सहकारीको ३० प्रतिशत लगानीमा शीत भण्डार निर्माण हुने खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले जानकारी दिए । शीत भण्डारको निर्माण आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य छ । निर्माणको ठेक्का इजी इन्फा प्रालिले पाएको छ । शीत भण्डारका लागि चालू आर्थिक वर्षमा खैरहनी नगरपालिकाले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । पूर्वी चितवनका चारओटा नगरपालिकालाई लक्षित गर्दै खैरहनीमा शीत भण्डार निर्माण गर्न लागिएको नगरपालिका प्रमुख चौधरीको भनाइ छ ।

चौधरीले पूर्वी चितवन व्यावसायिक कृषिको अब्बल क्षेत्र भएको हुँदा शीतभण्डारको निर्माणपछि कृषकलाई बजारीकरणमा सहज हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार