गैँडाको आक्रमणबाट ३ घाइते


बर्दिया, १५ भाद्र । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट २ जनाको ज्यान गएको घटना सेलाउन नपाउँदै यहाँ गैंडाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

जिल्लाको बारबर्दिया नगरपालिका–४ स्थित कुसुम्भाघाटको सामुदायिक वनको जंगलमा शनिबार गैंडाको आक्रमणबाट बारबर्दिया नगरपालिका–४ पदनाहाका १० वर्षीया सिखा थारु, सोही वडा बरकट्टाका ६५ वर्षीय जंगली थारु र वडा नम्बर ५ का रामप्रसाद थारु घाइते भएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए । सामुदायिक वनको बाटो भएर हिंड्दै गरेका एक जना र जंगलमा घाँस काट्दै गरेका २ जनालाई गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते राम प्रसादको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जंगली थारुको छाती र बालिका सिखा थारुको मुखमा गम्भीर चोट लागेको हुँदा दुबै जनाको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक बास्तोलाले बताए ।

खाने कुरा खोज तलास को क्रममा गैडा बस्तीतिर पसेको आशंका गरिएको छ । सो सामुदायिक वन निकुञ्जसँग जोडिएको छ । अचानक मानिस गैँडा सामु पर्दा गैँडाले आक्रमण गरेको हुन सक्ने निकुञ्जले जनाएको छ । गैंडा एक्लो भएर भौतारिएर बस्ती पसेको बताइएको छ । विगत केहि महिनादेखि उक्त गैँडा बस्ती तिर जाने क्रम बढेको देखिएकाले सो गैडालाई निकुञ्ज मै ल्याउनका लागि चितवनबाट प्राविधिक टोली बर्दिया बोलाइएको निकुञ्जले जनाएको छ ।

सामुदायिक वनमा पसेको गैँडालाई डार्ट गरी ९बेहोस गराउने औषधि० निकुञ्जमा ल्याइने बताइएको छ । निकुञ्जका बाघ, गैँडा र हात्ती लगायतका वन्यजन्तु निकुञ्ज छाडेर बस्तीमा छिर्न थालेपछि यहाँका जनता निकै आतंकित भएका छन् । डेढ साताको अवधिमा बाघको आक्रमणमा परी २ जनाको ज्यान गइसकेको छ । भने जंगली हात्ती मध्यवर्ती क्षेत्रका बस्तीमा पसेर बालीनालीको नोक्सान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार