
भोजपुर, १४ भाद्र ।
भोजपुरबाट वैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत भोजपुरेहरुको साझा सामाजिक संस्था भोजपुर हातेमालो सेवा समाज युएईले जिल्लामा पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
समाजले दुवईमा सहयोग अभियान नै सञ्चालन गरेर एक लाख ४ हजार ७३३ रुपैँया आर्थिक सहयोग गरेको हो ।सामाजले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका मृतक जनक विकको परिवारलाई २५ हजार ९७९, रामप्रसाद राई गाउँपालिका वडा नम्बर –७ बासीखोराका जगत वहादुर राईको परिवारलाई २५ हजार ९७९ र रामप्रसाद राई गाउँपालिका वडा –५ मानेभञ्याङमा ज्यान गुमाएका एकै घरका ३ जनाको परिवारलाई ५२ हजार ७७५ र साउदीबाट सुदिप वस्नेतले गरेको सहयोग १५ हजार ४५५ गरि ६८ हजार २३० रुपैंया सहयोग गरेको समाजका बरिष्ठ उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।समाजले रकम संकलनका लागि ३ जनाको संयोजकत्वमा समिति गठन गरेको थियो । जस अनुसार दुवई क्षेत्रमा केन्दिय सचिव दिपक थापा, अलेएन क्षेत्रमा हेम भण्डारी र अवुधावी क्षेत्रमा महासचिव रामकुमार तिरुवालाई संयोजकको जिम्मेवारी दिईएको समाजले जनाएको छ ।समाजको वैठकले उत्कृष्ट काम गरेको भन्दै संयोजक तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
रकम रामप्रसाद राई गाउँपालिकाका मृतकका परिवारलाई गाउँपालिका अध्यक्ष विजय राई र टेम्केमैयुङ गाउँपालिकामा गाउँपालिका अध्यक्ष ध्रुवराज राईले विहिबार हस्तान्तरण गरेको समाजका केन्द्रिय अध्यक्ष भिम थापाले जानकारी दिए ।गत असारमा परेको अरिवल वर्षातका कारण रामप्रसाद राई गाउँपालिकामा ४ जना र टेम्केमैयुङ गाउँपालिकामा एक जनाको ज्यान गएको थियो ।