बाजुरा, १० भाद्र । जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी सुत्केरीको शव आफन्तले लिखित सहमतिपछि मात्र बुझेका छन् । प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, उपचारमा संलग्न स्वास्थ्यकर्मी, पीडित परिवारका आफन्त र अन्य सरोकारवालाको संयुक्त छलफलपछि लिखित सहमतिसहित शव बुझेर सोमबार आफन्तले दाहसंस्कार गरेका हुन् ।
शुक्रबार राति सुत्केरी हुन आएकी बडिमालिका नगरपालिका–७ की २१ वर्षीया बसन्ती नेपालीको शनिबार बिहान मृत बच्चा जन्माइसकेपछि अस्पतालको शøयामा मृत्यु भएको थियो । आफन्तले उपचारमा स्वास्थ्यकर्मीको लापर्बाहीले मृत्यु भएको भन्दै दुई दिनसम्म शव बुझ्न मानेका थिएनन् ।
नहुनुपर्ने घटना भएको भनी घटनाप्रति समवेदना व्यक्त गर्दै अस्पताल प्रशासन र पीडित पक्षबीच यसपछिका दिनमा यस्ता घटना हुनबाट जोखिम संयमता अपनाउने, चार वर्षीय छोराको लालनपालनका लागि प्रशासनिक निकायको पहलमा मृतकका श्रीमान कृष्ण नेपालीलाई काम उपलब्ध गराउन पहल गर्ने सहमतिपछि आफन्तले शव बुझेका थिए ।
अत्यधिक रक्तस्रावका कारण पाठेघर र सालको बीचमा रगत बगेको थियो, बच्चा जन्मिँदा निस्कने पानी मुटु, फोक्सो र रगतमा मिसिएपछि श्वास फेर्ने नलि नै बन्द भएकाले सुत्केरीको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका एमडीजीपी चिकित्सक दुर्गा महर्जनले बताए । अस्पतालले आफूहरूको पक्षबाट सबै प्रकारको बुद्धि र उपाय प्रयोग गर्दा पनि बचाउन नसकिएको बताएको छ ।
स्वास्थ्यकर्मीले २६ साउनदेखि २ भदौसम्म सुत्केरी हुने मिति तोेकेको र २ भदौमा जिल्ला अस्पताल आएर वाडमा भर्ना हुनु पठाएकामा वाडमा भर्ना नभएर घर गएको र ढिलो गरी अस्पताल आएकाले यस्तो समस्या आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
शुक्रबार साँझ भर्ना गरेर सुत्केरी बेथा नलागेपछि शनिबार बिहान बेथा लगाउने औषधिको प्रयोगले बेथा लगाइएको थियो । बेथा लागे पनि बीचमै रोकिएपछि भ्याकुम डेलिभरी गराएर मृत शिशु जन्माइएको थियो । शिशु जन्मेको एक घण्टासम्म आमाको अवस्था राम्रो रहेको र एक्कासि स्वास्थ्यमा समस्या आएर मृत्यु भएको निमित्त कार्यालय प्रमुख रोहित गिरीले बताएका छन् ।
त्यो समयमा सुत्केरी महिलासँग ६ प्वाइन्ट रगत थियो । दुई प्वाइन्टका लागि महिलाका आफन्तलाई खबर गरेको चिकित्सकले बताए । मृतक महिलाका श्रीमान् रोजगारीको सिलसिलामा कुबेतमा थिए । उनी सोमबार बिहान मात्र मार्तडी पुगेका छन् । जिल्ला अस्पताल बाजुरामा सुत्केरीको मृत्यु भएको यो पहिलो घटना हो ।