
सिराहा, ८ भाद्र। अवैध ढंगले सञ्चालन गरेको भन्दै संयुक्त बजार अनुगमन संयन्त्रले ६ डेरी उद्योगमा सिलबन्दी गरेको छ । दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको डेरी उद्योग मध्येबाट सिरहा सदरमुकामस्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरंग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित सुधा दूध डेरी उद्योगमा सिलबन्दी गरिएको हो ।
सिलबन्दी भएका अधिकांश डेरी उद्योगमा गाईभैंसीको सट्टा प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको पाइएको थियो । कतिपयको डेरी उद्योगमा नेपाल सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको र दुर्गन्धित रूपमा डेरी उद्योग फेला परेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंहका अनुसार डेरी उद्योगीहरूलाई बारम्बार डेरी उद्योगको मापदण्ड अपनाउन निर्देशन दिएपछि अटेरी गरेकाले सिलबन्दी गरेको बताए ।
उनले हालै गरेको अनुगमनमा युरिया मल, चिनी, मानव जीवनको स्वास्थ्यसँग प्रत्यक्ष असर गर्ने पाउडर दूधको प्रयोग, मापदण्डविपरीत, अत्यधिक फोहर मैलाजस्ता थुप्रै त्रुटि देखिएको बताए । सिरहामा यस्ता ४५ वटा दूध डेरी उद्योगहरू दर्ता भई सञ्चालनमा रहेका छन् । तीमध्ये कतिपयको कागजपत्र छैनन् भने कतिपयको मापदण्डविपरीत सञ्चालन गर्दै आइरहेका छन् ।
अनधिकृत रूपमा दर्जनौंको संख्यामा अवैध ढंगले डेरी उद्योगहरू सञ्चालन भइरहेका छन् । दर्तावाल सबै डेरी उद्योगलाई अनुगमन नगरिसकेकाले सम्भवतः ५० प्रतिशत डेरी उद्योग मापदण्डविपरीत सञ्चालन भएको हुन सक्ने जिल्ला प्रशासन कार्यालयका कमल आचार्यले जानकारी दिए ।
सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले अनियमित ढंगले सञ्चालन गरिरहेका डेरी उद्योगलाई कानुनी दायरामा ल्याउन तथा मानवीय रूपमा अखाद्य उपभोग्य वस्तु तयार गरी बिक्रीवितरण गर्नबाट रोक्न अनुगमनको थालनी गरेको बताए ।