
संखुवासभा, ८ भाद्र चीन सरकारले खाँदबारी नगरपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स कार्यविधि नबन्दाँ त्यसै थन्किएको छ । एम्बुलेन्स एक बर्षअघि नै चीन सरकारले उपलब्ध गराएको भए पनि नगरपालिकाले कार्यविधि बनाउन खासै चासो नदेखाएका कारण यसै थन्किएको हो ।
बिरामीलाई सेवा दिन ल्याइएको एम्बुलेन्स चलाउदै नचलाई बिग्रिने अवस्थामा पुगेको छ । नगरपालिकाले विभिन्न कारण देखाउँदै एम्बुलेन्स सेवा दिन आनाकानी गर्न गरेको छ । गत साउन महिनामा चनैपुर नगरपालिका–१० की गर्भवती कला राईको जिल्ला अस्पताल खाँदबारी उपचार हुन नसक्ने बतायो ।गर्भवती कलाका आफन्तले चौर्तर्फी एम्बुलेन्सको खोजी पनि नपाएपछि खाँदबारी नगरपालिकालाई खबर गर्दा कार्यविधि बनेको छैन, हामीले चालक र भाडा दर तोकेपछि मात्र सेवा दिन सक्ने जवाफ पाएको राईले बताए । उनी मात्र होइन अन्य सेवाग्राहीले पनि एम्बुलेन्स प्रयोग गर्न पाएका छैनन् । जिल्लामा निजी तथा सरकार गरी आधा दर्जन एम्बुलेन्स सञ्चालन भए पनि धेरैजसो बिग्रिएर थन्किएका छन् ।उता, खाँदबारी नगरपालिका नगरप्रमुख मुरारी खतिवडाले कार्यविधि नबनाएका कारण एम्बुलेन्स सुचारु गर्न नसकिएको स्वीकार गरे । नगरप्रमुख खतिवडाले चाँडै कार्यविधि बनाएर सेवा सुचारु गर्ने बताए । हाल खाँदबारी नगरपालिकामा चार जना सवारीचालक कार्यरत छन् । खाँदबारी नगरपालिकामा सवारीसाधनको मर्मत र इन्धनका नाममा लाखौं रकम खर्च हुने गरेको स्रोतको भनाइ छ ।
जटिल प्रकृतिका बिरामीलाई तत्कालै एम्बुलेन्स सेवा चाहियो भने यात्रु बोक्ने गाडीले साधनको प्रयोग गर्नुपर्ने बाध्यता छ । यात्रु बोक्ने गाडीले सेवा दिए पनि चर्को शुल्क असुल्ने गरेका छन् ।