घोडाघोडी, ५ साउन । कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले तीन वडामा सेवा दिनुपर्ने बाध्यता छ। एउटा वडा सचिवले फरक फरक वडामा गएर सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने गरेको वडा नं ३ का वडा सचिव होमप्रसाद रिजालको भनाइ थियो।
एउटै सचिवले तीन वटा वडामा सेवा दिनु परेका कारण घोडाघोडी नगरपालिकाका वडाहरूको काम अस्तव्यस्त पाइएको छ। वडा सचिवहरूले दिन बिराएर सेवाग्राहीलाई सेवा दिइरहनु परेको छ। सेवाग्राहीहरूलाई कुन वडामा कुन बार सचिव आउने जानकारी नहुँदा निकै सास्ती हुने गरेको छ।
उक्त नगरपालिका–५ का सचिव होमप्रसाद रिजालले वडा नं ३ र ७ नंको पनि काम गरी रहेका छन्। त्यस्तै ४ र ९ को जिम्मेवारी हेमकान्त सुवेदी, २ र ६ को जिम्मेवारी विष्णुप्रसाद चौधरीले र वडा नं १० र ११ को जिम्मेवारी धनीराम चौधरीले बहन गरी राखेका छन्।
नगरपालिकाको वडा नं १, ८ र १२ मा वडा सचिव भए पनि बाँकी वडामा भने २ देखि ३ वडाको जिम्मेवारी एउटै सचिवले लिनुपर्ने बाध्यता रहेको स्वीकार गर्दै अब छिट्टै यो समस्या समाधान गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बताए।रासस