पहाडमा डिपवोरिङबाट पानी


गुल्मी, ५ साउन । तराईका जिल्लामा सीमित रहेको डिप बोरिङ पहाडका जिल्लामा पनि सञ्चालन हुन थालेको छ । पहाडी जिल्लामा खानेपानी समस्या थपिएपछि डिप बोरिङको अध्ययन भयो र केहीस्थानबाट पानीसमेत निकालिएको छ ।

कालीगण्डकी नदी किनारको रिडी बजारमा वर्षौदेखि खानेपानी संकट रह्यो । व्यापारिक केन्द्र र ठूलो धार्मिकस्थलमा खानेपानी संकट भएपछि धेरैलाई समस्या रहेको थियो । तर, अहिले डिप बोरिङमार्फत घरघरमै खानेपानी आएपछि स्थानीय खुसी भएका छन् । करिब २४ लाख रुपैयाँको प्रारम्भिक बजेबाट योजना निर्माण सुरु गरिएको थियो । बाँकी बजेटको व्यवस्था पनि प्रदेश सकारले उपलब्ध गराउनेछ ।

खानेपानीको ठूलो संकट रहेको रेसुंगा नगरपालिका–९ का उपल्लो तम्घासमा डिप बोरिङको पहिलो परीक्षण गरिएको थियो । त्यो परीक्षण सफल भएपछि नगरका अन्य स्थानमा पनि डिप बोरिङको प्रयोग गरिएको वडाध्यक्ष नारायण बरालले बताए । अहिले उपल्लो तम्घासमा दुई स्थानबाट पानी तानिएको छ । जसका कारण ५२१ उपभोक्ता प्रत्यक्ष लाभाम्वित भएका छन् ।

खानेपानीको सहज आपूर्ति र पिउनयोग्य देखिएपछि वडा नम्बर ८ को बसपार्क र खानीगाउँमा पनि डिप बोरिङमार्फत खानेपानी वितरण थालिएको छ । वडा नम्बर ८ सहित अन्य वडा गरी तत्काल चार सय २२ घरधुरीमा समेत खानेपानी व्यावस्थापन गरिएको वडाध्यक्ष भरत भलामीले बताए । पर्याप्त पानी हुने सदरमुकाम तम्घासका पँधेरा पनि अहिले सुक्दै गएका छन् ।

खानेपानी सुक्दै गएपछि रेसुंगा नगरपालिकाले ट्यांकरमार्फत नागरिकलाई प्रतिलिटर ५० पैसाका दरले खानेपानी वितरण गरेको नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले बताए । खानेपानी संकट समाधान गर्न रेसुंगा नगरपालिकालाईसुख्खा ग्रस्त क्षेत्र घोषणा गरी तीन चरणका योजना अघि सारेको नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार