काठमाडौं, ३ भाद्र। यस वर्ष १० दिन मनसुन ढिला भए पनि धान रोपाइँ गत वर्षकै हारहारीमा भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको १ भदौसम्म मुलुकभर ९४.९३ प्रतिशत धान रोपाइँ भएको छ । सोही अवधिमा गत वर्ष पनि मुलुकभर धान रोपाइँ ९५.३९ प्रतिशत भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ०।९६ प्रतिशतले मात्र कम भएको छ ।
मन्त्रालयको तथ्यांकअनुसार १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल धान रोपाइँ हुने क्षेत्रफल रहेको छ । जसमा यस वर्ष धान रोपाइँ १२ लाख ९५ हजार २८२ हेक्टर क्षेत्रफल रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा १३ लाख ८ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । गत वर्षको तुलना गर्दा यस वर्ष १३ हजार २१८ हेक्टर क्षेत्रफलमा रोपाइँ कम भएको छ ।
धान रोपाइँ गत वर्षकै हाराहारीमा भए पनि उत्पादनमा कमी हुने कृषि विज्ञको भनाइ छ । वरिष्ठ कृषि विज्ञ भोला बस्नेतले क्षेत्रफलका आधारमा धान रोपाइँ गत वर्षकै हाराहारीमा भए पनि उत्पादनमा कमी हुने बताए । उनले यस वर्ष गत वर्षको भन्दा करिब ६ प्रतिशत धान उत्पादनमा कमी आउने बताए । यस वर्ष धान रोपाइँ ढिला सुरु भएकाले उत्पादनमा कमी आउने उनको भनाइ छ ।
ढिलो रोपेको धानले समयमा रोपेको धानकोजस्तो गाँज हाल्न नसक्ने भएकाले यस वर्ष उत्पादन ५ देखि ६ प्रतिशत कमी आउने विज्ञ बस्नेतको भनाइ छ । यसैगरी, उनले यस वर्ष मलको पनि अभाव देखिएकाले उत्पादन घट्ने बताए । उनका भनाइअनुसार धान हुन रासायनिक मल र जैविक मलको एकीकृत व्यवस्था हुनुपर्छ ।
‘एक किलो नाइट्रोजनले २० किलो धान उत्पादन हुन्छ, धान रोपाइँ भएको ३० देखि ३५ दिनभित्र बालीमा मल हालिसक्नुपर्छ, यदि त्यो समयमा धानले मल पाएन भने उत्पादन स्वतः घट्छ । जति उत्पादन हुनुपर्ने हा,े त्यति हुँदैन,’ वरिष्ठ कृषि विज्ञ बस्नेतले भने ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले धान रोपाइँ वर्षकै हाराहारीमा भएको छ । उत्पादन अहिले नै भन्न नसक्ने बताए । उनले सिचाइँ र मलको व्यवस्थापन राम्रो भए गत वर्षको भन्दा धेरै पनि हुन सक्ने र व्यवस्थापन हुन नसके कम हुन सक्ने बताए । यनले अहिले नै धान उत्पादनमा गत वर्षभन्दा यति प्रतिशतले कमी आउँछ भनेर अनुमान लगाउन नसक्ने बताए ।
गत वर्ष मुलुकभर १३ लाख ८ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । जुन हालसम्मकै धेरै धान उत्पादन थियो । गतवर्ष समयमा धान रोपाइँ र सिँचाइ मलको व्यवस्थापन राम्रो हुँदा उत्पादन भएको मन्त्रालय भनाइ छ ।
मन्त्रालयका तथ्यांकअनुसार १ भदौसम्म यस वर्ष सबैभन्दा धेरै उच्च पहाडमा धान रोपाइँ भएको छ । उच्च पहाडमा १ भदौ सम्ममा ९७।९३ प्रतिशत रोपाइँ भएको हो । गत वर्ष सोही अवधिमा ९६।४४ प्रतिशत रोपाइँ भएको थियो ।
यसैगरी, मध्य पहाडमा ९१।९५ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ९४।१६ प्रतिशत रोपाइँ भएको थियो । तराई क्षेत्रमा ९५।१३ प्रतिशत भएको छ । गत वर्ष सोही अवधिमा ९५।७८ प्रतिशत रोपाइँ भएको थियो ।