हेटौंडामा डेंगु रोगबाट ६२ जना सर्वसाधारण बिरामी


हेटौंडा,२३ साउन ।। लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका कारण हेटौंडामा सर्वसाधारण बिमारी हुने क्रम बढ्दै गएको छ । एक साता अघिसम्म हेटौंडामा ३२ जना रोगी फेला परेकोमा बुधबारसम्म ६२ जना पुगेका छन् ।

रोगीको संख्या बढ्दै जान थालेपछि हेटौंडा उपमहानगरपालिकाले रोकथामको उपाय सुरु गरेको छ ।हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र मात्र ६२ जना डेंगु रोग लागेका बिरामी फेला परेको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए । उपमहानगरपालिकाको वडा नम्बर ४ मा धेरै बिमारी भएको उनले बताए । साउन १ गते देखि साउन २२ गतेसम्ममा डेंगूका बिरामी ६२ जना फेला पारिएको कार्कीले जनाए ।बिरामी मध्येमा ३० जना सरकारी अस्पतालमा र बाँकीको निजी अस्पताल र मेडिकलमा उपचार भइरहेको उल्लेख छ । अहिलेसम्म उपमहानगरपालका बाहिर डेंगुका रोगी फेला नपरेको कार्कीले बताए । डेंगु लागेर बाहिरी जिल्लाका अस्पतालमा पनि उपचारका लागि गएको भए रोगीको संख्या बढ्न सक्ने उनले जानकारी दिए ।डेंगुका बिमारी बढ्दै जान थालेपछि उपमहानगरपालिकाले चार दिन देखि जनचेतना जगाउँदै नियन्त्रणको काम सुरु गरेको मेयर हरिबहादुर महतले जानकारी दिए । डेंगुको संक्रमण देखिएका स्थानका लामखुट्टे नष्ट गर्ने काम भइरहेको उनले बताए । उपमहानगरपालिकाबाट सचेतनामूलक सन्देश माईकिङ गर्ने, लामखुट्टेको बासस्थान नष्ट गर्ने, टोलटोल र विद्यालयमा लामखुट्टेबाट बच्ने अभियानका बारेमा जनचेतना कार्यत्रलम सञ्चालन गरिरहेको छ । उपमहानगरपालिका भित्र विभिन्न स्थानमा जमेको पानी हटाउने, खाडल पुर्ने काम पनि भइरहेको मेयर महतले बताए ।

हेटौंडा उपमहानगरपालिकाको बुधबार कार्यपालिकाको बैठकबसी प्रत्येक वडामा डेंगुको नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने बासस्थान नष्ट गर्ने निर्णय गरिएको मेयर महतले जानकारी दिए । उपमहानगरपालिकाले टोल विकास संस्था नगर समन्वय समितिलाई पनि डेंगुको नियन्त्रणका लागि काम गर्ने आव्हान गरेको छ । हेटौंडामा देखापरेको डेंगुको नियन्त्रणका लागि प्रदेश सरकार संगको सहकार्यमा पनि काम भइरहेको स्वास्थ्य प्रमुख कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार