
चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ। वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ। कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष टीकाराम रिजालले जानकारी दिए। प्रहरी र स्थानीयवासीको सहयोगमा साढे ३ बजे आगो नियन्त्रणमा ल्याइएको थियो। आगजनी कसले र किन गरेको भन्नेबारे केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।