सडक अवरुद्ध हुँदा पाँचथरमा दैनिक उपभोग्य सामाग्रीको अभाव


पाँचथर । वर्षादका कारण पाँचथरको उत्तरवर्ती र दक्षिणी भेगमा सवारी साधान संचालन हुन नसक्दा दैनिक उपभोग्य सामाग्रीको अभाव शुरु हुन थालेको छ ।जिल्लाको फालेलुङ,तुम्बेवा, र मिक्लाजुङ गाउँपालिकामा दैनिक उपभोग्य सामाग्रीको अभाव शुरु हुन थालेको स्थानियहरु बताउँछन् । फिदिम–फालोट सडकखण्डमा ठाउँठाउँमा झरेको पहिरोका कारण सडक अवरुद्ध भएपछि फालेलुङको मेमेङ,प्राङबुङ,सिदिन लगायतका स्थानमा चामाल,चिउरा,तेल लगायतका सामाग्रीको अभाव हुन थालेको सिदिनका ब्यवासायी लिलाधार खनालले बताउनुभयो ।

यस्तै वर्षादका कारण मौवा–धरान सडकखण्ड अवरुद्ध भएपछि जिल्लाको दक्षिणी भेग तुम्बेवा गाउँपालिकाको मौवा,आङना,चुहाडे लगायतका स्थानमा पनि खाद्यन्न अभाव शुरु भएको मौवाका बाबुराम खड्काले बताउनुभयो । यस्तै मिक्लाजुङको सराङडाँडा,कुरुम्बा,लिम्बा,दुरदिम्बा लगायतका ग्रामिण भेगमा दैनिक उपभोग्य सामाग्रीको अभाव भएको स्थानिय गंगा आङदेम्बेले बताउनुभयो ।

सडक विग्रिँदा ट्रयाक्टरहरु भासिने,पहिरो झर्ने क्रम नरोकिँदा दैनिक उपभोग्य सामाग्रीको समस्या उत्पन्न भएको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होम थापाले बताउनुभयो । अहिले भत्किएका सडकहरु सम्भव भएसम्म मर्मत गर्ने कार्य गरिराखिएको फालेलुङ गाउँपालिका अध्यक्ष संच कुमार केरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार