राजस्व संकलनमा सुधार


उदयपुर, १६ साउन । करदाता सेवा कार्यालय गाईघाटले उदयपुरमा आर्थिक वर्ष २०७५÷७६ मा राजस्व संकलनमा उत्साहजनक वृद्धि गरेको छ । कार्यालयले लक्ष्यभन्दा ३० प्रतिशत बढी राजस्व संकलन गरेको छ । आव २०७५÷७६ मा ४३ करोड ९० लाख १३ हजार ३७२ रुपैयाँ ६५ पैसा राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ३० करोेड ६५ लाख १७ हजार २४५ रुपैयाँ ९७ पैसा संकलन भएको थियो । दुई वर्षबीचको राजस्व संकलन तुलना गर्दा अघिल्लो वर्ष भन्दा २०७५/७६ मा उत्साहजनक वृद्धि भएको अधिकृत सुमन बुढाथोकीले जानकारी दिए । गाईघाटस्थित आन्तरिक राजस्वको करदाता सेवा कार्यालयका अनुसार २०७४/७५ भन्दा राजस्व संकलन ३० प्रतिशत बढी संकलन भएको छ । यो परिमाण गत वर्षभन्दा १३ करोड २५ लाख हाराहारी बढी हो ।

कर कार्यालयका अनुसार यो अंकको संकलित राजस्वमा मूल्य अभिवृद्धि कर ९भ्याट०, स्थायी लेखा नम्बर ९प्यान०, अन्तःशुल्क, बहाल कर, ब्याज कर, स्वास्थ्य सेवा शुल्क र शिक्षा सेवा शुल्कसमेत समावेश गरिएको छ । आयकर सबैभन्दा बढी २१ करोड १८ लाख ९० हजार ८२२ रुपैयाँ ३४ पैसा संकलन भएको छ । दोस्रो ठूलो अंक भ्याटबापत १७ करोड ८२ लाख १७ हजार ६५७ रुपैयाँ संकलन भएको छ भने ३ करोड ५ लाख ९६ हजार ४६१ रुपैयाँ अन्तः शुल्कबापत संकलन भएको कर अधिकृत बुढाथोकीले बताएका छन् ।

बहाल कर पनि उल्लेख्य उठेको छ । १ करोड ३५ लाख ८६ हजार ८ सय ८ रुपैयाँ ११ पैसा बहाल करबाट संकलन भएको कार्यालयले जनाएको छ । त्यस्तै, ब्याज कर २७ लाख ७१ हजार ८७ रुपैयाँ ३९ पैसा उठेको छ भने १६ लाख ७९ हजार ८७९ रुपैयाँ शिक्षा सेवा कर संकलन भएको छ । २०७५÷७६ मा स्वास्थ्य सेवा कर बापत २ लाख ७० हजार ६५७ रुपैयाँ संकलन भएको छ । कर कार्यालयले संकलन गर्ने राजस्व सबै करजन्य भएको अधिकृत बुढाथोकीले बताए । गैरकरजन्य राजस्व पनि जिल्लामा १३ करोड हाराहारी संकलन भएको उनले बताएका छन् । गैरकरजन्य राजस्व अदालत, प्रशासन, प्रहरी, ट्राफिक र वनलगायत विभिन्न सरकारी कार्यालयमार्फत संकलन भएर कोष तथा लेखा नियन्त्रक कार्यालयमा जम्मा हुने उनले बताए ।

कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरले सेतो भौचरमार्फत २०७५÷७६ मा ५७ करोड ७८ लाख ६ हजार २११ रुपैयाँ ४७ पैसा राजस्व संकलन भएको जनाएको छ । जसमध्ये संघतर्फ ४९ करोड ६२ लाख १३ हजार ८३४ रुपैयाँ छ भने प्रदेशतर्फ ८ करोड १५ लाख ९२ हजार ३७६ रुपैयाँ राजस्व संकलन भएको प्रमुख कोष नियन्त्रक हिरा न्यौपानेले बताए । करदाता सेवा कार्यालयमार्फत भने रातो भौचर कर संकलन हुने गरेको कर अधिकृत बुढाथोकीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार