योगेश भट्टराइलाई मन्त्री बनाएर २१ महिनापछि बाचा पुरा गरे प्रधानमन्त्री ओलीले


काठमाडौं, १५ साउन । मन्त्रिमण्डल पूर्नगठनको हल्ला चलिरहेको वेला रिक्त रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा योगेश भट्टराइलाई नियुक्त गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले २१ महिनापछि बाचा पूरा गरेका छन् ।

संविधान निर्माणपछि भएको प्रतिनिधीसभा निर्वाचनमा एमाले नेता योगेश भट्टराई ताप्लेजुङवाट बामगठबन्धनको साझा उम्मेदवार बनेका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओली योगेशको चुनावी सभामा सहभागी भए । योगेशका लागि भोट माग्दै प्रधानमन्त्री ओलीले भने ‘योगेशजीलाई चुनाब जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा मेरो ।’

योगेशले भारी मतअन्तरले चुनाब जिते, बामगठबन्धनको बहुमत आयो तर, प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा भट्टराईको नाम परेन । पार्टी भित्रैबाट योगेश मन्त्री हुनुपर्ने टिप्पणी भयो भने सामाजिक सञ्जालमा योगेश जत्तिका व्यक्तिलाई मन्त्री बनाउदा राम्रै हुने टिप्पणी उठ्यो । तर, प्रधानमन्त्री ओलीले कसैका कुरा सुनेनन् । मुख्यमन्त्रीमा समेत आफ्नै गुट नजिककालाई प्राथमिकतामा राखे ।

स्पष्टवक्ता युवा नेताका रुपमा चिनिने भट्टराईले बेला मौकामा सरकारवाट भएको कमजोरीको आलोचना गर्न छुटाएनन् । ‘नेल्सन मण्डेला जस्तो सर्वमान्य नेता बन्ने गरि ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कार्यकारी भुमिकावाट बिदा लिनुपर्छ ।’ तत्कालीन एमाले र माओवादी केन्द्रविच एकता प्रसंग चलिरहेको वेला काठमाडौमा आयोजित एक कार्यक्रममा भट्टराइले भनेका थिए । त्यसो त राष्ट्रियसभा उम्मेदवार चयनको वेला पनि योगेश भट्टराईले ‘नोट आफ डिसेन्ट’ लेखेका थिए ।

सार्वजनिक कार्यक्रममा होस् या सामाजिक सञ्जालमा टिप्पणी गर्ने सन्दर्भमा शीर्ष नेताको आलोचना गर्न नहिच्किचाउने नेताको रुपमा चिनिन्छन् भट्टराई । त्यसकारण पनि प्रधानमन्त्री ओली उनीप्रति उती सकारात्मक थिएनन् ।

पछिल्लो समय पार्टीभित्र भट्टराइको क्रेज बढ्दै जानुको साथै प्रधानमन्त्री ओलीले केबल गुट च्यापेको आरोप लागीरहेको बेला फरक गुटका व्यक्तिलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाएर प्रधानमन्त्री ओलीले दुवै गुटका साझा नेता बन्ने प्रयाश गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार