गाँजाको विकल्प कृषिमा अनुदान


चितवन– जिल्लाको पहाडी क्षेत्रमा स्थानीयको जमिन भाडामा लिएर तस्करहरुले गाँजाखेती गर्न थालेपछि उनीहरुलाई विकल्प दिन खोजिएको छ। आफ्नो बारीमा उब्जिएको अन्नले मुस्किलले तीन महिना धान्ने ग्रामीण पहाडी क्षेत्रका जनतालाई तस्करहरुले उब्जनीभन्दा बढी पैसा दिएर गाँजाखेतीका लागि भाडामा लिने गर्दछन्।

तीनै तस्करले गाँजा लगाउन, गोडमेल गर्न, थन्काउन र ढुवानीका लागि उनीहरुलाई नै प्रयोग गर्दै आएका छन्। तस्करको काम गर्नुपर्ने स्थानीयवासीको बाध्यतालाई अन्त्य गर्न स्थानीय तहका जनप्रतिनिधिले फलफूल, तरकारी, पशुपालनमा अनुदान दिन सुरु गरेका हुन्।राप्ती नगरपालिका–१० का अध्यक्ष अमरबहादुर तामाङ २० डोको मकै हुने स्थानमा तस्करले गाँजा लगाउन ५० हजार रूपैयाँसम्म दिने भएपछि कानुनी अड्चन नबुझेका स्थानीयवासी त्यसतर्फ लाग्ने गरेको बताउँछन्। गाउँलेलाई गाँजा खेती गर्नु गैरकानुनी भएको बुझाउँदै फलफूलका बिरुवा लगाउन लगाउने, अर्ग्यानिक तरकारी खेती गर्न सिकाउने, बेमौसमी तरकारी खेती गराउने, पशुपालन, मौरीपालनजस्ता काममा सहयोग गर्न थालेको तामाङले बताए।

वडा तह, नगरपालिका, मौरी जोनजस्ता सरकारी निकायले उनीहरुलाई विकल्पका लागि विभिन्न कार्यक्रमहरु लैजाने गरेका छन्। मकवानपुरसँगको सीमाक्षेत्रमा गाँजा लगाउने क्रम बढिरहेको भन्दै उनीहरुलाई विकल्प दिन नगरपालिका लागिपरेको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताइन्। राप्ती नगरपालिकाका चार वडा पहाडी क्षेत्रमा पर्दछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार