खोटाङ१० साउन । ढिलो वर्षा भएका कारण खोटाङमा हालसम्म ६२ प्रतिशत मात्र रोपाइँ भएको छ। लामो समयसम्म खडेरी परेकाले मैझारो हुने बेलामा करिब ६२ प्रतिशत मात्र रोपाइँ भएको हो।
गत मंगलबारसम्मको तथ्यांकअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाको १२ हजार आठ सय ९८ खेतमध्ये हालसम्म आठ हजार एक सय ८१ दशमलव तीन हेक्टरमा रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईले बताए। जिल्लामा कूल १४ हजार तीन सय ६० दशमलव ११ हेक्टर खेत भए पनि १२ हजार आठ सय ९८ हेक्टरमा धानखेती गर्ने गरिएको छ। हालसम्म सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकामा ८०र८० प्रतिशत रोपाइँ भएको छ। यस्तै केपीलासगढी गाउँपालिकामा ७५ प्रतिशत, खोटेहाङ गाउँपालिकामा ७० प्रतिशत, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा ६०र६० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख राईले बताए।
रावाबेँसी गाउँपालिकामा ४० प्रतिशत र सबैभन्दा कम हलेसी तुवाचुङ नगरपालिकामा ३५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। असार अन्तिम साता वर्षा भएपछि किसानले रोपाइँ गर्ने मौका पाएका हुन्। पानी नपर्दा सिमसार र बाह्रैमास नसुक्ने पानीको मुहान भएका खेतबाहेक अन्य खेतमा रोपाइँ हुन सकेको थिएन।
बेलामा रोपाइँ नहुँदा कतिपय ठाउँमा धानको बीउ हुर्केर खेर गएको किसानको भनाइ छ। प्रायः असार अन्तिम साता मैझारो हुँदै आएको दिक्तेलमा हालसम्म रोपाइँ जारी रहेको स्थानीय कोलेबारी कृषि सहकारीका अध्यक्ष गोपालचन्द्र आचार्यले बताए। रोपाइँमा ढिलाइ हुँदा यस वर्ष धान उत्पादन घट्ने भएपछि किसान चिन्तित छन्। सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाइँ हुने गरे पनि सिञ्चित र असिञ्चित प्रकारको खेतमा वर्षा भएपछि मात्र रोपाइँ हुने गरेको छ।