पाँच जिल्ला हेर्ने कार्यालयमा दुई कर्मचारी मात्रै


दमौली, ९ साउन । पाँच जिल्ला कार्यक्षेत्र रहने गरी तनहुँको दमौलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भयो। तनहुँसहित गोरखा, लमजुङ, मनाङ र नवलपुरको जिम्मेवारीसहित २०७५ साल कात्तिक १५ गते डिभिजन कार्यालय दमौलीमा स्थापना भएको हो।

ती पाँच जिल्लाको खाद्यान्न अनुगमन गर्ने जिम्मेवारी पाएको डिभिजन कार्यालयमा भने जम्मा दुई जना कर्मचारी कार्यरत छन्। दुई जनामध्ये एक कार्यालय प्रमुख हुन् भने अर्का कार्यालय सहयोगी। कर्मचारी अभावमा कार्यालयले सोचे जस्तो काम गर्न सकेको छैन।यद्यपि तनहुँ जिल्लामा भने कार्यालयले बेलाबेलामा अनुगमन गर्ने गरेको डिभिजन प्रमुख शिवजी बरालले जानकारी दिए। दुई जना प्राविधिकसहित चार जनाको दरबन्दी रहेको कार्यालयले कर्मचारी अभावमा तनहुँबाहेक अन्य चार जिल्लामा अनुगमनको काम गर्न नसकेको बरालले बताए।“पाँच जिल्लाका होटल र उद्योग निरीक्षण एवं अनुगमन तथा खाद्य नमुना सङ्कलनको काम गर्ने जिम्मेवारी कार्यालयलाई भएपनि कर्मचारी अभावमा समस्या भोग्नुपरेको छ,” बरालले भने, “तनहुँ सदरमुकाम दमौलीका केही होटल र उद्योगहरुको अनुमगन गरिए पनि एक÷एक पटक गोरखा र लमजुङ पुग्नेबाहेक अन्य काम गर्न सकिएको छैन ।” बरालका अनुसार नवलपुर र मनाङमा भने एक पटक पनि अनुगमन भएको छैन।

सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा
गुण नियन्त्रण विभाग मातहत रहेको कार्यालय दमौलीको एक घरमा भाडामा सञ्चालित छ। “जुन उद्देश्यका साथ डिभिजन कार्यालय स्थापना भएको हो, कर्मचारी अभावमा उद्देश्य अनुसारको काम गर्न सकेका छैनौँ”, बरालले भने “कर्मचारी दरबन्दीको विवरण सम्बन्धित ठाउँमा जानकारी गराएका छौ‌।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार