बलेवा,९ साउन । केही दिनदेखि परिरहेको निरन्तर वर्षासँगै गएको पहिरोका कारण बागलुङका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध भएका छन्। मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणमा रहेको बरेङ गाउँपालिकासँगकोे सडक सम्पर्क टुटेको छ।
जिल्ला सदरमुकाम र छिमेकी गाउँपालिका तथा नगरपालिका जोड्ने सडक पहिराले अवरुद्ध भएपछि बरेङमा सडक सम्पर्क टुटेको हो। बरेङदेखि धुल्लुबाँस्कोट छाप उर्लेनी सडक तीन दिनदेखि अवरुद्ध छ। उक्त गाउँपालिकाको कार्यालयदेखि गुल्मीको शान्तिपुर सडकखण्डको दाउन्ने, काल्चे र घट्टेमा पहिरो जाँदा बाटो अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताए। गाउँपालिकाभित्रको भन्दा छिमेकी गाउँपालिकाको सडक खण्डमा पानीले अवरोध पु(याएका कारण हाम्रो सडक सम्पर्क टुटेको होु उनले भने, “निरन्तर वर्षा भइरहेकाले तत्कालै सडक खुलाउन सम्भव छैन।
गुल्मीको सिमानामा पर्ने उक्त गाउँपालिकाले सदरमुकाममा हुने कामबाहेक गाउँपालिका बाहिर आवतजावतका लागि बरेङ–शान्तिपुर सडक प्रयोग गर्दै आएका थिए। सो सडक एक साता पहिलेदेखि नै अवरुद्ध छ। सडक बन्द हुँदा बरेङदेखि बुटवलका लागि छुटेका सवारी साधन बरेङमै रोकिएका छन् भने बुटवलदेखि बरेङका लागि आएका यात्रुबाहक तथा मालबाहक गाडी शान्तिपुरमै रोकिएको उपाध्यक्ष पुनले जानकारी दिए।