शुक्लाफाँटामा चोरी सिकार शून्य


कञ्चनपुर, ९ साउन । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जासुसी क्यामेरा जडान गरिएपछि चोरी सिकार शून्य भएको छ। निकुञ्जका चोरी सिकार हुन सक्ने सम्भावित दुई दर्जन बढी ठाउँमा क्यामेरा राखिएका छन्।

गत वर्ष क्यामेराकै सहायताले चोरी सिकारमा संलग्न तीनजनालाई समात्न सकेका थियौं, निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले भने, ुक्यामेराको प्रभावकारिताका कारण यस वर्ष चोरी सिकारका मुद्दा शून्यमा झरेका छन्। निकुञ्जमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि क्यामेरामा कैद भएका तस्वीरका आधारमा तत्कालै निकुञ्ज सुरक्षार्थ सुरक्षाकर्मीलाई परिचालन गर्ने व्यवस्थासमेत गरिएको छ।
क्यामेरा जडान हुनुअघि चोरी सिकारमा संलग्नलाई पक्राउ गर्न निकै मुस्किल हुने गरेको थियो, अधिकृत चौधरीले भने, चोरी सिकारमा संलग्नलाई पहिचान गर्न गाह्रो थियो, हाल क्यामेरा जडानले चोरी सिकारमा संलग्नको पहिचानसँगै नियन्त्रण गर्नसमेत सहज भएको छ।

निकुञ्जबाट हुने काठ तस्करीको कार्यसमेत शून्यमा झरेको उनले बताए। भारतसँग सीमा जोडिएको टारटरगञ्जको भारतीय बङ्गाली बस्ती चुनौतीका रुपमा रहेको निकुञ्जका कर्मचारीको भनाइ छ। केही चोरी सिकारका कार्य त्यस क्षेत्रमा हुने गरेका भए पनि भारतीय वन सुरक्षाकर्मीसँगको समन्वयमा निगरानी बढाउने कार्य हुँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार