काठमाडौं , ९ साउन । मद्रास सेक्युरिटी प्रिन्टर्स ९एमएसपी० ले स्मार्ट लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि धोका दिएको छ। एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन अर्थात् असार २९ गतेभित्र प्रिन्टर आपूर्ति गरिसक्नुपथ्र्यो तर भएन।
विभागका कम्प्युटर निर्देशक श्रीचन्द्र शाहले एमएसपीले असारभित्र ल्याउनुपर्ने प्रिन्टर अझै नल्याएको बताए। यसअघि पनि एमएसपीले साढे ११ लाख कार्ड लेजर प्रविधिबाट प्रिन्ट गर्ने ठेक्का पाएकोमा सम्झौता अवधिभरमा मुस्किलले आठ लाख स्मार्ट लाइसेन्स प्रिन्ट गरेर सरकारलाई धोका दिएको थियो। सम्झौताबमोजिम स्मार्ट लाइसेन्स छाप्न नसकेर उपभोक्तालाई सास्ती दिने उक्त कम्पनीलाई कालोसूचीमा राख्नुपर्नेमा यातायात व्यवस्था विभागले उल्टै अर्को ठेक्का दिँदा समस्या निम्तिएको कार्यालयकै उच्च अधिकारीहरुको भनाइ छ।
प्रिन्टर समयमा नल्याएपछि सरकारले एमएसपीलाई दैनिक २४ हजार जरिवाना गर्न थालेको साहको भनाइ छ। विभागकै उच्च अधिकारीहरु कम्पनीले तत्काल प्रिन्टर ल्याउनेभन्दा पनि जरिवाना तिर्न इच्छुक रहेकाले जरिवानाको खासै अर्थ नरहेको बताउँछन्। उक्त प्रिन्टर खरिदका लागि एमएसपीसँग करिब ५ करोडमा ठेक्का सम्झौता भएको थियो। अहिले भएका ६ वटा मेसिनबाट दैनिक ३ हजार कार्ड प्रिन्ट भइरहेकोमा त्यतिले माग धान्न नसकेपछि विभागले दैनिक ८ हजार कार्ड छाप्न सक्ने प्रिन्टर खरिदका लागि एमएसपीसँग सम्झौता गरेको थियो।