शैक्षिक भवन निर्माण रोक्न अदालतको आदेश


चुरे मकवानपुर, ८ साउन । मकवानपुरको हेटौंडामा वन विज्ञान संकाय विश्वविद्यालय सञ्चालनको लागि निर्माण गर्न लागिएको शैक्षिक भवन निर्माणकार्य रोक्न अदालतले आदेश दिएको छ । विवादित जग्गामा भवन निर्माण कार्य गर्न लागेपछि अहिले काम रोक्न अदालतले आदेश दिएको हो ।

कृषि तथा वन विश्वविद्यालयअन्तर्गत हेटौंडा–१० स्थित फरेस्टीमा भइरहेको भवन निर्माणको काम अघि नबढाउन उच्च अदालत पाटन, हेटौंडा इजलासले अन्तरिम आदेश दिएको हो । इजलासका न्यायाधीश चण्डिराज ढकालको एकल इजलासले कृषि तथा वन विश्वविद्यालय –एउफयू० लाई हेटौंडामा कुनै संरचना निर्माण गर्ने जस्ता काम नगर्न÷नगराउन अन्तरिम आदेश दिएको हो । आदेशमा विवादित जग्गाको रूख काट्ने कामसमेत नगर्न भनिएको छ । अदालतले दुवै पक्षलाई छलफलका लागि ८ साउनमा अदालत उपस्थित हुन भनिएको छ । अधिवक्ता मोहनप्रसाद भट्टराई र मोहनप्रसाद ढकालले त्रिवि वन विज्ञान अध्ययन संस्थानको तर्फबाट बहस गरेका थिए ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयले हेटौंडामा भवन निर्माणको काम थालेपछि त्रिविअन्तर्गतको वन विज्ञान अध्ययन संस्थान हेटौंडाले विरोध जनाउँदै आएको छ । त्रिवि र एएफयूबीचको जग्गाको विषयलाई लिएर लामो समयदेखि चलिरहेको विवादका बीच ९ असारमा प्रदेश ३ का मुख्यमन्त्री पौडेल, प्रतिपक्षी दल कांग्रेसका नेता इन्द्र बानियाँलगायतका नेताले करिब १० करोडको लागतमा निर्माण हुने पाँचतले शैक्षिक भवनको शिलान्यास गरेका थिए ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले भवनको शिलान्यासका क्रममा शैक्षिक भवनको शिलान्यास कार्य हुनु नै आधा निर्माण सकिएको भन्दै यो काम कसैले रोक्न नसक्ने बताएका थिए । दुई वर्षभित्र उक्त भवन निर्माण सम्पन्न गर्ने तयारी रहेको वन विज्ञान अध्ययन संस्थान हेटौंडामा उपकुलपति आईपी ढकालले बताए । १३ करोड लागत अनुमान गरिएकोमा हाल १० करोडको टेन्डर दिइएको थियो । अहिले निर्माण कार्य रोक्नका लागि अदालतले आदेश दिएपछि निर्माण कार्य प्रभावित हुने पक्का प्राय भएको छ । यो अवस्थामा आगामी दिनमा काम कसरी अघि बढाइने भन्ने विषय थप चुनौतीपूर्ण भएको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार