उदयपुर, ५ साउन । सिद्धिचरण लोकमार्ग अन्तर्गत मिर्चैयादेखि उदयपुरको कटारी(घुर्मी ७२ किलोमिटर सडक खण्डमा चार वर्षमा सवारी दुर्घटनामा परी ४८ जनाले ज्यान गुमाएको छ ।
जिर्ण अबस्थामा रहेको सो सडकमा ज्यानको जोखिम मोलेर हिंड्नु पर्ने बाध्यता छ । सडक जिर्ण भएकै कारण चार वर्षमा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको ईलाका प्रहरी कार्यालय कटारीको तथ्याकंले देखाएको छ ।यहाँ पैदल यात्रा झनै जोखिममा छ । पैदल यात्री गर्ने क्रममा सवारी ठक्करबाट ७ को मृत्यु भएको छ । त्यसैगरी मोटरसाईकल सवारी ठक्करबाट ३ जनाले ज्यान गुमाएका छन् । प्रहरीको तथ्याकं अनुसार मिर्चैया, कटारी, घुर्मी सडक खण्डमा आर्थिक वर्ष २०७२र७३ मा ३, आर्थिक वर्ष २०७३र७४ मा १५ आर्थिक वर्ष २०७४र७५ मा १५, आर्थिक वर्ष २०७५र७६ मा दुर्घटनाबाट ९ जनाले ज्यान गुमाएका छन् ।त्यसैगरी सिद्धिचरणसँग जोडिएको आसपासका ग्रामिण भेगमा भएका दुर्घटनामा ६ को मृत्यु भएको छ । यि दुर्घटनाहरुमा १६ जना घाईते भएका थिए ।
चार वर्ष भित्र भएका ठुला दुर्घटना मध्ये २०७४ कार्तिक १३ गते कटारी नगरपालिका– ११ को ठाँटी पहिरोमा ना १ ज ३४०४ नम्बरको बोलेरो दुर्घटना हुँदा १ महिला र ८ पुरुष गरी ९ जनाले ज्यान गुमाएका थिए । त्यसैगरी २०७३ मंसिर २४ गते लेखानीस्थित चनौटेमा घुर्मीबाट कटारीतर्फ आउँदै गरेको ना ४ ख ३६२० नम्बरको बस दुर्घटनामा १ महिला र ५ पुरुष गरी ६ जनाको ज्यान गएको थियो ।






















