
ओखलढुंगा, १७ असार । भूकम्पबाट विस्थापित ओखलढुंगाका २४ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ। चिशंखुगढी गाउँपालिका–८ माम्खा भँडारेका विस्थापित परिवारलाई सरकारको तर्फबाट दुईरदुई लाख रुपैयाँको जग्गा खरिद गरी लालपुर्जा प्रदान गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख युवराज खरेलले बताए।
लामो समयदेखि जोखियुक्त बस्तीमा बस्दै आएका पीडित स्थानान्तरण गरिएको जग्गाको धनीपुर्जा पाएसँगै खुशी भएका छन्। २०७२ सालको भूकम्पपछि माम्खा भँडारेका स्थानीयलाई पहिरोको त्रास बढेको थियोे। भूकम्पले गाउँवरिपरिका पहाडमा पहिरो जान थालेपछि उक्त स्थानलाई जोखिमयुक्त बस्ती पहिचान गरी सरकारले स्थानान्तरण गर्ने योजना अघि सारेको थियो। व्यवस्था गरिएको स्थानमा घर निर्माण गरी बसोबास सुरु गरेमा आयआर्जनको क्षेत्रमासमेत सहयोग गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ।
घर निर्माणका लागि वडा तहबाट सम्झौता गरी प्रक्रियागत रूपमा अगाडि बढ्यो भने किस्ता रकम उपलब्ध गराउने प्राधिकरणले जनाएको छ। एकीकृत बस्तीको नमुनाअनुसार उनीहरू अगाडि बढे प्राधिकरणबाट थप चार लाख रुपैयाँसमेत सहयोग गर्न सकिने प्राधिकरणको भनाइ छ। ओखलढुंगामा जोखिमयुक्त बस्ती स्थानान्तरण गर्नुपर्ने घरधुरी संख्या एक सय ९९ रहेका छन्। हालसम्म ९३ परिवारलाई सुरक्षित स्थानमा जग्गाको व्यवस्था गरी स्थानान्तरण गरिएको कार्यालयले जनाएको






















