काठमाडौं,१५ असार । मध्यअसार आइपुग्दा पनि पर्याप्त पानी नपर्दा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । हालसम्म नेपालभर जम्मा ११।६४ प्रतिशत मात्र रोपाइँ भएको छ ।
यो गत वर्षको तुलनामा ३।४५ प्रतिशत कम हो । गत वर्ष असार १५ को अवधिमा देशभर १५।०९ प्रतिशत रोपाइँ भएको थियो ।बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार हाल उच्च पहाडमा २६।३१ प्रतिशत र मध्य तराईमा १५।१२ प्रतिशत रोपाइँ भएको छ । अन्नको भण्डार मानिने तराईमा जम्मा ९।५९ प्रतिशत मात्र रोपाइँ भएको छ । जबकी तराईमा धान रोपाइँ १० लाख ९४ हजार ६३६ हेक्टर क्षेत्रमा हुन्छ । तर, १५ असारसम्म जम्मा १ लाख ५ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ ।
यस वर्ष किसानहरुले खडेरी र मलखादको अभाव भोगेका छन् । इटहरी, इलाम, उदयपुर, कलैया, काठमाडौं, धुलिखेल, हेटौंडा, भरतपुर, गजुरी, नेपालगञ्ज, गुलरिया, दाङ घोराही, तुल्सीपुर, लमही, सुर्खेत, धनगढी र महेन्द्रनगरका किसानहरुले मलको अभाव भोगेको कृषि सामाग्री व्यवस्थापन तथा प्रविधि शाखाको तथ्यांक छ ।






















