
पाँचथर, ११ असार । निरन्तरको वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाका छ बस्तीहरु पहिरोको चपेटामा परेका छन् । उच्च पहाडी क्षेत्रमा पर्ने यहाँका सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा मङ्गलबार रातिदेखि पहिरो जान थालेको गाउँपालिका–२ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिनुभयो ।
पहिरोले मुक्लाबुका पहलमान राईको घर बगाएको छ । यहाँका दर्जनौँ घरमा पहिरोबाट क्षति पुगेको छ । वडाध्यक्ष योङहाङका अनुसार मङ्गलबार रातिदेखि नै स्थानीयवासी सुरक्षित स्थानको खोजीमा निस्किएका छन् ।चिङ्माका १४ घरपरिवार सुरक्षित स्थानको खोजीमा डुँडे चौर भन्ने स्थानमा पुगेको वडाध्यक्ष योङहाङले जानकारी दिनुभयो । स्थानीयवासीका गाई तथा चौँरी गोठ पहिरोले बगाएको छ । यद्यपि क्षतिको पूर्ण विवरण प्राप्त हुन नसकेको वडा सदस्य प्रेमबहादुर राईले जानकारी दिनुभयो ।
पहिरोका कारण यी बस्तीहरुमा सञ्चालित मेजर चिङ्मा रवि खोला लघु जलविद्युत् आयोजनामा क्षति पुगेको छ । आयोजना अवरुद्ध भएपछि स्थानीयवासीसँग सम्पर्क हुन नसकेको वडाध्यक्ष योङहाङले जानकारी दिनुभयो । उहाँका अनुसार निरन्तर वर्षा भइरहेका कारण यी छ वटै बस्तीका स्थानीय सुरक्षित स्थानका खोजीमा निस्किएका छन् ।“हालसम्म करीब ३० परिवार सुरक्षित स्थानको खोजीमा निस्किएको सुनिएको छ”, योङहाङले भन्नुभयो “निरन्तर वर्षा भए पहिरो जानसक्ने भयले स्थानीय घरबाट निस्किएका हुन् । वर्षा रोकिएमा विस्थापित हुने थिएनन् ।”






















