
भक्तपुर, २८ जेठ। भक्तपुर कटुन्जेकी विजेश्वरी प्रजापतिको हत्यामा संलग्न भएका व्यक्ति १९ वर्ष पछि पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले हत्यामा संलग्न देवीरमण अधिकारीलाई १९ वर्षपछि पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीले २०५७ असार ८ गते आफूले काम गरेको घरकै घरपेटी ३३ वर्षीया विजेश्वरीको प्रजापतिको हत्या गरेका थिए ।
हत्यारा भनिएका अधिकारी त्यसबेला प्रजापतिको घरमा घरेलु कामदारको रुपमा काम गर्थे । हत्या गर्नुअघि अधिकारी र विजेश्वरी प्रजापतिबीच कामबापतको तलबका विषयमा वादविवाद भएको थियो । आफूले काम गरेको पैसा दिन आनाकानी गरेको रिसमा प्रजापतिको हत्या गरेर अधिकारी फरार भएका थिए ।
हत्यापछि नेपाल र भारतमा लुकिछिपी बस्दै आएका अधिकारीलाई प्रहरीले नेपाल भारतको सीमानजिक बेलहिया नाकाबाट पक्राउ गरेको प्रहरिले बताएको छ । पक्राउ परेका अधिकारीलाई लाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई जिम्मा लगाइएको छ ।






















