
भोजपुर, २७ बैशाख । रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा सडक खन्ने क्रममा देवीदेवताको मूर्ति फेला परेपछि भक्तजनहरुको आवत जावत बढेको छ ।
मूर्ति फेला परेपछि सो स्थललाई अहिले ‘गुप्तेश्वर महादेव’ नामाकरण गरी स्थानीयले संरक्षण गरिरहेका छन्। स्थानीय पुजारी गणेशप्रसाद निरौलाका अनुसार परापूर्वकालमा त्यहाँ देवस्थल रहेको तर पहिरोले पुरिएको हुन सक्ने र अहिले सडक खन्ने क्रममा मूर्ति फेला परेको हो।
देवस्थलमा अहिले भक्तजन आउने गरेका छन्। सो ठाउँमा साँझ बिहान पूजापाठ गरिन्छ। उक्त स्थानमा शिवलिङ्गसँगै अन्य विभिन्न देवीदेवताको मूर्तिसमेत देख्न सकिन्छ। स्थानीय स्तरमा संरक्षण समिति गठन गर्दैछौँ, निरौलाले भने।
धार्मिक स्थलको संरक्षणसँगै प्रचारप्रसारको काम भइरहेको वडाध्यक्ष डिकमान राईले बताए। गत पुसमा वडा कार्यालयदेखि धोद्खानीको फिलुङगेटारसम्म करीब तीन किलोमिटर सडक विस्तारका क्रममा विभिन्न देवीदेवताको मूर्ति भेटिएको हो। भूगर्भविद् ल्याएर यथार्थ पत्ता लगाउने तयारीमा जुटेका छौँ”, राईले भने। अहिले सो ठाउँमा विभिन्न समयमा मेलासमेत लाग्ने गरेको छ। योजनाबद्ध ढंगले यसको विकासका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने गाउँपालिकाका अध्यक्ष विजय राईले बताए।
हेर्नुस् भिडियो…






















