
काठमाण्डौ, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राति देख्ने सपना नभई देश बनाउने सपना देखेको बताएका छन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारे उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सपना राति मात्रै देख्ने कुरा हो भन्ने कसैलाई लागेको हो भने त्यसो नभई आफूहरुले देश बनाउने अठोटको सपना देखेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘यहाँ देश बनाउने कुराको सपना हो । भविष्यको सपना हो । निदाएको बेला देख्ने सपनाको कुरा गरेको होइन । जागै हुँदा देख्ने सपना हो ।’
शहीदका सपना पूरा गर्ने अठोटलाई कसैले रातमा देख्ने सपनाको रुपमा चित्रित गर्नु उचित नहुने भन्दै शहीदका सपना भनेको निदाएर घुरेर देख्ने सपना नभएको प्रष्ट पारेका छन् ।
देश कहाँ पुग्ने, कस्तो बनाउने भन्ने आकांक्षा बोकेर त्यसलाई पूरा गर्ने अठोटलाई सपनाको रुपमा आफूहरुले लिएर हिँडेको पनि उनले बताए ।
नीति कार्यक्रम बडो सोच विचार गरेर तय गरेको सपनाको दस्तावेज भएको भन्दै त्यो देखेको मात्रै नभई एउटा सोचको रुपमा विकास गरेको पनि उल्लेख गरे ।
प्रतिपक्षीले नीति तथा कार्यक्रमलाई एउटा निबन्ध भन्नु आवश्यक संशोधन गर्नुपर्ने केही पनि नरहेकाले त्यस्तो टिप्पणी गरेको भन्ने रुपमा आफूले बुझेको पनि उनले बताए ।






















