झापा र मोरङको छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु


झापा । १ नम्बर प्रदेशको झापा र मोरङ जिल्लामा आज बिहान भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका(४ जोरलाभरमा स्कुलबसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । बिहान सवा ९ बजे भित्री सडक खण्डमा कर्णाली उच्च माध्यामिक बोर्डिङ स्कुलको मे १ ख १८१९ नम्बरको स्कुल बसको ठक्करबाट सोही स्थान बस्ने पैदलयात्री बर्ष ४१ को राजेन्द्र जबेगुको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाउना साथ तत्काल इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी टोली खटि गई बस र चालक सोही गाउँपालिका(१ बस्ने बर्ष ४६ को गोपाल बराईलीलाई नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ । मृतकको शव कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका(१२ मंगलबारेमा ट्याक्टरको ठक्करबाट १ बालिकाको मृत्यु भएको छ । भित्रि सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ त २१२४ नम्बरको ट्याक्टरले सोही स्थान बस्ने दिप नारायण राजवंशीको छोरी अरूणोदय आधारभूत बिद्यालयमा कक्षा ४ मा अध्ययनरत बर्ष १० की चन्द्रकला राजवंशीलाई बिहान साढे ९ बजे स्कुल जाने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि कोशी अन्चल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको प्रहरी चौकी बखरीले जनाएको छ । ठक्कर दिने ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार