कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति


चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् ।रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात्रामा नोक्सान व्यहोर्न बाध्य भएका हुन् । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागार्इंका अनुसार मङ्सिरमा हेटौँडामा देखिन शुरु गरेको रोग पूर्वी चितवन हुँदै नवलपरासीसम्म फैलिएको छ । दैनिक प्रयोगशालामा ४० वटा हाराहारी नमूना परीक्षणका लागि आउने गरेका छन् । तीमध्ये १० वटा हाराहारीमा एच नाइन देखिएको उहाँले बताउनुभयो ।नमूना नल्याइएका र समस्या देखिएका कुखुराका खोर पनि प्रशस्त रहेको उहाँले बताउनुभयो । कार्यालयले दुई सयभन्दा बढी नमूना थप परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको उहाँले बताउनुभयो ।

प्रमुख डा चापागाईँका अनुसार जैविक सुरक्षा अपनाएर उपचार गरेका कृषकका कुखुरा २५ प्रतिशतसम्म मरेको भए पनि सुरक्षा अपनाउन नसकेका कतिपय खोरका सबै कुखुरा मरेको उहाँले बताउनुभयो ।शुरुमा लेयर्स कुखुरामा देखिएको यो समस्या माउ कुखुरा  र ब्रोइलरमा पनि देखिन थालेको छ । यो रोगको सङ्क्रमण देखिन थालेपछि शुरुमा दाना नखाने, बिरामी कुखुराले मुन्टो पखेटामुनि राखेर बस्ने, आँखाको डिल सुनिने, अण्डा घटाउँदै लैजाने, अण्डाको बोक्रा पातलो हुने र झोक्राएर मर्न थाल्ने चापागाईंले बताउनुभयो ।बर्डफ्लूकै वर्गको रोग भए पनि कुखुरा मर्दा राज्यले अनुदान नदिने र बीमा कम्पनीले बीमा नगरिदिने हुँदा कृषक मर्कामा परेको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बर्डफ्लु हुँदा राज्यले अनुदान दिन्छ, तर उत्तिकै नोक्सान हुने एच नाइनमा कसैको सहयोग रहँदैन ।”उहाँका अनुसार विगत सात/आठ वर्षयता एच नाइनका कारण वर्षेनी कृषकले ठूलो नोक्सानी व्यहोर्दै आएका छन् । बढ्दो दानाको मूल्य र घट्दो अण्डाको मूल्यका कारण अण्डा उत्पादक कृषक पलायन हुने अवस्था सिर्जना भएको बेलामा रोगले कुखुरा मर्न थालेपछि थप समस्या व्यहोर्नु परेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार